नेपाल इञ्जिनियर्स एशोसिएशन मधेश प्रदेशद्वारा वरिष्ठ इञ्जिनियरहरूलाई सम्मान

समाचार

जनकपुरधाम, ४ साउन । ६० औँ इञ्जिनियर दिवसको अवसर पारेर नेपाल इञ्जिनियर्स एशोसिएशनले वरिष्ठ इञ्जिनियरलाई सम्मान गरेको छ । 
नेपाल इञ्जिनियर्स एशोसिएशन मधेश प्रदेश समितिद्वारा जनकपुरधाममा मंगलबार आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा वरिष्ठ इञ्जिनिर चन्देश्वर रौनियार, प्रकाशचन्द्र साह, गिरिधारी साह, कृष्णचन्द्र साह, नन्दकिशोर यादव, रामरतन यादवलाई जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, नेपाल इञ्जिनियर्स एशोसिएशन मधेश प्रदेशका अध्यक्ष गौरी पण्डितले दोसल्ला ओढाएर सम्मान गरे ।

त्यस्तै सवारी दुर्घटनामा परी निधन भएका इञ्जिनियर सतिश गोइतको परिवारलाई सम्मान गर्दै आर्थिक सहयोगसमेत प्रदान गरिएको छ । नेपाल इञ्जिनियर्स एशोसिएशन मधेश प्रदेशका निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यलाईसमेत सम्मान गरेको जनाइएको छ । 
नगर प्रमुख साहले विकास पूर्वाधार निर्माणमा इञ्जिनियरको अग्रणी भूमिका रहेको बताए ।

उनले विकास निर्माणको गुणस्तरीयता वृद्धिका लागि इञ्जिनियर सचेत हुनुपर्नेमा जोड दिँदै इञ्जिनियरबाट थोरै कमजोरी भए त्यसले ठूलो क्षति हुनसक्ने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने बताए । 
तीन दिनसम्म विविध कार्यक्रम गरी ६०औँ इञ्जिनीयर दिवस मनाइएको एशोसिएशन मधेश प्रदेश समितिले जनाएको छ । यसअघि साेमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका थिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ