रुपन्देही, ५ साउन । विवादका कारण रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट पारित भएको छ । असार १० गते नगरसभामा प्रस्तुत बजेट नगरसभाले पारित गरेको हो ।
नगरसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मतले पारित भएको हो ।
कांग्रेस र एमालेको विवादका कारण तिलोत्तमामा बजेट प्रस्तुत भएपनि प्रक्रिया अघि बढेको थिएन । न्यायिक समिति गठनमा विवाद हुँदा नगर सभा बैठक सुचारु हुन सकेको थिएन ।
गत असार ३१ गते र साउन १ गते बसेको नगरसभा बैठकमा गणपूरक संख्या नपुगेको भन्दै मेयर रामकृष्ण खाँणले बैठक स्थगित गरेका थिए ।
तर उपप्रमुख जागेश्वरी देवी चौधरीसहित एमालेका जनप्रतिनिधिहरुले आफूहरु बैठकमा उपस्थित भएपनि हाजिर गर्न नदिएर बैठक स्थगित गरेको आरोप लगाउँदै आएका थिए ।
साउन १ गतेको बैठकमा प्रमुख प्रशासकीय अधिकृतले आफूहरुको हाजिर नगरेको भन्दै एमालेका जनप्रतिनिधि आक्रोशित भएर प्रदर्शन गरेको थिए ।
उनीहरुले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई हलबाट बाहिर निस्कन नदिँदा प्रहरी परिचालित भएको थियो । प्रहरीले तिलोत्तमा ४ का वडाध्यक्ष हरि क्षेत्रीलाई पौडी पोखरीमा धकेल्दा एमाले थप आक्रोशित भएको थियो ।
साउन २ गते सूचना टाँस गरेर नगरसभा स्थगित भएको थियो । त्यसपछि दुई पक्षबीच सहमति भएको थियो । नगरसभाले सहकारी ऐन दोस्रो संशोधन पनि पारित गरेको छ । त्यस्तै, कार्यपालिका बैठकका निर्णय अनुमोदन र न्यायिक समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।
नगरसभाबाट न्यायिक समिति, लेखा समिति, विधायन समिति, सुशासन समिति, विधेयक समिति गठन भएको छ । यसअघि समिति गठनमा सहमति नजुट्दा विवाद हुँदै आएको थियो ।
तपाईको प्रतिक्रिया