बाँकेमा ४६ प्रतिशत मात्रै रोपाइँ

समाचार

बाँके, ५ साउन । बाँकेमा असार सकिए पनि ४६ प्रतिशत मात्रै रोपाइँ भएको छ । लामो समयदेखि पानी नपर्दा रोपेको धान पनि सुक्न थालेको छ ।

कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले धान रोपाइँ गरेका छन् । बाँकेमा ठूलो भूभागमा आकाशे पानीको घरमा खेती गरिन्छ । कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले साउनको ५ गतेसम्म मुस्किलले ४६ प्रतिशत रोपाइ भएको बताए ।

‘धेरै किसानले रोप्न पाएका छैनन् । पानी नपरेकाले यो वर्ष खडेरी लाग्ने सम्भावना बढ्यो,’ ढकालले भने, ‘असारमा राखेको बिउ बुढो भइसकेको छ । अब पानी पर्दा रोपाइँ त हुन्छ । उत्पादन घट्छ ।’

बाँकेमा ३६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । राम्ररी पानी परेको बेलामा पनि यहाँको प्रतिकठ्ठा उत्पादन डेढ क्वीन्टल हाराहारीमा छ । यो वर्ष समयमा पानी नै नपरेकाले धान उत्पादन घट्ने निश्चितजस्तै भएको ढकालले बताए ।

बाँकेमा असार १५ गते राम्ररी पानी परेको थियो । त्यसपछि अलिअलि पानी परे पनि रोपाइँ नै हुने गरी पानी परेको छैन ।
बल्लतल्ल रोपाइँ भएको धान सुकेको छ । खेतमा धाँजा फाटेको छ । गौरवको आयोजना सिक्टाको काम लम्बिँदै जाँदा बाँकेका किसानको दुःख पाइरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ