दुई स्थानीय तहले ल्याएनन् बजेट

समाचार

रौतहट, ५ साउन । रौतहटका दुईवटा स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । जिल्लाका फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाले अझै बजेट सार्वजनिक गर्न नसकेका हुन् ।

फतुवा विजयपुरका नगर प्रमुखलाई भ्रष्टाचार मुद्दा दायर भएपछि नगर सभा प्रभावित भएको हो । राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख गोपाल राय यादवसहित २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेका थियो ।

उनी अहिले निलम्बनमा छन् । उपप्रमुख अमवेया खातुनलाई कार्यवाहक जिम्मेवारी दिइएको छ । अब चाँडै नगर सभा हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले बताए । उपप्रमुखलाई कार्यवाहकको जिम्मेवारी दिएपछि नगरसभाको तयारी थालिएको उनले बताए ।

नदीजन्य वस्तुबाट प्राप्त राजस्व हिनामिनामा संलग्न भएको आरोपमा अख्तियारले नगरप्रमुख यादवसहित तत्कालीन उपप्रमुख कान्ति देवीसहित वडा नं–५ का वडाअध्यक्ष शेख एजाज अहमद, वडा नं–८ का तत्कालीन वडाअध्यक्ष तथा हाल कार्यपालिका सदस्य उमाशंकर साह कलवार, वडा नं–११ का वडाअध्यक्ष ज्ञानेन्द्र चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यस्तै जिल्लाको दुर्गाभवानी गाउँपालिकाले पनि बजेट ल्याउन सकेको छैन । गाउँपालिकाले आन्तरिक विवादको कारण देखाउँदै गाउँसभा गर्न नसकेको जनाएको छ ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० सम्ममा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान छ । उक्त बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्छ । तर, रौतहटका यी दुबै पालिकाले नयाँ आर्थिक वर्ष सुरु भएपनि बजेट ल्याउन नसकेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ