धनुषा, ८ साउन । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि खुशी जनाउँदै नागरिकताविहीन युवाहरूले सरकारप्रति आभार व्यक्त गरेका छन् ।
नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा शनिबार साँझ धनुषाको ढल्केवरमा दीपप्रज्जवल गर्दै युवाहरूले नेपाल सरकार र गृहमन्त्री बालकृष्ण खाँणलाई विशेष धन्यवाद दिएका छन् । त्यस्तै, उनीहरूले नागरिकता विधेयक पास गराउन आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । त्यसक्रममा उनीहरूले प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभाबाट पनि तत्काल पारित गर्न जनप्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।
दीपप्रज्जवलन कार्यक्रममा समितिका अध्यक्ष इन्जिनियर जित साझीले राष्ट्रियसभाबाट विधेयक पास गराउनका लागि नागरिकताविहीनलाई दबाब श्रृजना गर्न पनि आग्रह गरेका छन् । नागरिकसम्बन्धी विधेयक शुक्रबार प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको थियो ।
यो विधेयक पारित भएपछि विशेष गरी जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता पाउने भएका छन् । नागरिकता नहुँदा आफ्नै देशमा उनीहरूले विभिन्न किसिमका समस्या खेप्दै अनागरिकको जीवन व्यतित गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया