जनकपुरधाम, ११ साउन । तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुर चुरोट कारखाना परिसरलाई औद्योगिक विकास क्षेत्रका रूपमा उपयोग गर्न संघीय सरकारलाई सुझाव दिएको छ ।
बुधबार उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले चुरोट कारखानाको निरीक्षण अवलोकन गरेलगतै विज्ञप्ति जारी गरी तमलोपाले यस्तो सुझाव दिएको हो ।
कुनै बेला नेपालको सबैभन्दा ठूलो र सफल उद्योगको रूपमा चिनिएको जनकपुर चुरोट कारखानाले सबैभन्दा बढी राजस्व पनि दिँदै आएको छ । नेपालको आद्यौगिकरणको निमित्त भएका प्रयासहरूको महत्वपूर्ण स्मारकका रूपमा रहेको यो कारखाना परिसरलाई साना तथा मझौला उद्योगहरूको केन्द्रका रूपमा विकसित गर्नुपर्ने तमलोपाको जिकिर छ ।
साथै, तमलोपाले मधेश प्रदेश सरकारको प्रशासनिक भवन अन्यत्र बनाउन पनि सुझाव दिएको छ । हाल कारखानाका भौतिक संरचना तथा परिसरलाई मधेश प्रदेश सरकारले उपभोग गर्दै आएको छ । मधेश सरकारले कारखाना परिसरमै स्थायी संरचना बनाउने तयारी गरेपछि तमलोपाले असन्तुष्टि जनाएको हो । मधेश सरकारलाई कारखाना क्षेत्र हस्तान्तरण गर्दा यसको ऐतिहासिक महत्व गुम्ने तमलोपाको भनाइ छ । मधेश प्रदेश सचिवालयका लागि नयाँ जग्गाको खोजी गरी निर्माण कार्यमा लाग्नुपर्ने तमलोपा अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया