जनकपुरधाम, १२ साउन । जनता समाजवादी पार्टीले विभिन्न सातबुँदे माग राखी सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टीको मधेश प्रदेश कार्यसमितिको निर्णयअनुसार जसपाले बिहीबार धनुषासहित आठवटै जिल्ला प्रशासन कार्यालयको प्रमुख तथा स्थानीय तहका प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको हो ।
जसपाका नेता तथा कार्यकर्ताले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानहरूलाई विशेष राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, किसानहरूका लागि प्रयाप्त मलखादको व्यवस्था गर्नुपर्ने, किसानहरूले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्नुपर्ने र सिँचाइका लागि व्यापक डिप बोरिङलगायत अन्य वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, सिँचाइका लागि किसानहरूलाई सहुलियत स्वरूप डिजलको व्यवस्था गर्नुपर्ने, किसानहरूको सुविधाका लागि कृषि विद्युतीकरणको व्यवस्था गर्नुपर्ने र कृषि मिटरमा विशेष छुटको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
सत्ता घटक जसपा आफ्नै गठबन्धन सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
तपाईको प्रतिक्रिया