सिकाइको समावेशी ढाँचा शिक्षक तालिम सम्पन्न

समाचार

जनकपुरधाम, १६ साउन । युनिसेफले हालै प्रकाशित गरेको प्रतिबेदान अनुसार विश्वको जनसंख्याको २४० मिलियन भन्दा बढी बालबालिकामा कुनै न कुनै प्रकारको अपांगता रहेको देखाएको छ र जसको ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशमा रहेका छन् ।

२५ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय शिक्षासम्मको पहुँचमै छैन । साथै भएका मध्य पनि ४१ प्रतिशतले शिक्षामा विभेदको अनुभव गरेका छन् र ५१ प्रतिशत भन्दा बढी बालबालिकाले शिक्षामा समावेशी नभएको धारणा राखेको तथ्य समेत सार्वजनिक गरेको छ ।

उपरोक्त तथ्यको मुख्य कारण भनेको शिक्षामा समावेशीकरण नहुनु र विद्यालय शिक्षा अपांगता मैत्री नभएको शिक्षामा धारणागत, भौतिक र संस्थागत अवरोध रहेको जनगुनासो सर्वत्र सुन्नमा आउँछ । अपांगता असक्षमता होइन र सबै बालबालिकाले सिक्न सक्दछन् तर शिक्षामा रहेका अबरोध हटाउने र अवसरको सिर्जना गर्ने कुरा महत्वपूर्ण पक्ष हो ।

सिकाईको समावेशी ढाँचालाई व्यवहारमा उतार्न सके ८० प्रतिशतभन्दा बढी बालबालिकाले एउटै कक्षाकोठा भित्रको वातावरणमा समानस्तरको सिकाइ उपलब्धि हासिल गर्न सक्दछन् भन्ने तथ्य पनि विभिन्न प्रतिवेदनले औल्याएको छ ।

सिकाईको समावेशी ढाँचाको अवधारणा, रणनीति, विधि, प्रक्रिया र प्रविधि समेतलाई समेटर मधेश प्रदेशको जनकपुरधामस्थित अन्नपूर्ण होटल, जिरोमाईल, धनुषा जिल्ला र श्री दुर्गा मा.वि., मनरा सिसवा नगरपालिका–१, महोत्तरी जिल्लामा सिकाइको समावेशी ढाँचासम्बन्धी ३ दिने शिक्षक तालिम साउन १३ देखि १५ गतेसम्म सम्पन्न भएको छ ।

यसैगरी साउन ६ देखि ८ गते २०७९ मा नेपाल भारत लोज, मलंगवा, सर्लाही र बारा जिल्लाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रमा जेष्ठ ३१ देखि अषाढ २ गते २०७९ मा सिकाइको समावेशी ढाँचा सम्बन्धी ३ दिने शिक्षक तालिमहरु सम्पन्न भएको छ ।

विश्व शिक्षा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र शिक्षा तालिम केन्द्र, बाराको साझेदारीमा प्रेरणा संस्थाद्वारा आयोजना गरिएको तालिममा मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही र रौतहट जिल्लाका ५० ओटा सामुदायिक विद्यालयहरुका प्रारम्भिक कक्षामा अध्यापन गर्ने शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो ।

नेपालमा पहुँचयुक्त शैक्षिक प्रविधिको विस्तार गर्न लर्न परियोजना अन्तर्गत प्रारम्भिक कक्षा शिक्षकलाई अपांगता भएका, अल्पसंख्याक, सीमान्तकृत र भाषागत कठिनाइ भएका बालबालिकालाई समावेशीको मूलधारका कक्षाकोठामा पढाउने विधि, प्रक्रिया र प्रविधिको बारेमा ४ ओटा फरक–फरक ठाँउमा तालिम संचालन गरी सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा अपाङ्गता र समावेशी शिक्षा,, सिकाइको समावेशी ढाँचा, प्रारम्भिक पहिचान र वैयक्तिक शैक्षिक योजना, सिकाइका सामग्री, शिक्षामा प्रविधिको प्रयोग लगायतका विषयवस्तुमा तालिम प्रदान गरिएको छ ।

तालिममा अपांगता लगायत अन्य बालबालिकाको सिकाई उपलब्धि हासिल गर्नमा सहयोगी सिद्ध हुने तालिम प्रशिक्षक तथा विश्व शिक्षाका वारिष्ठ अनुगमन र मूल्याकंन अधिकृत सुरेश भण्डारीले बताए ।

यस तालिमबाट विद्यालयको कक्षाकोठामा शिक्षण सिकाइ प्रक्रियामा नविनता ल्याउन, अवरोध न्यूनीकरण गर्न र अवसर प्रदान गर्न नवीनतम् विधि सिकेको र जसले आगामी दिनमा विद्यार्र्थीको सिकाइ स्त्तरोन्नति हुने विश्वास सहभागीहरुले जनाए ।

मधेश प्रदेशका महोत्तरी, धनुषा, रौतहट र सर्लाही जिल्लामा लर्न परियोजना लागू भएको विभिन्न ५० ओटा सामुदायिक विद्यालयहरुबाट १०१ जना शिक्षक शिक्षिकाहरु यो सिकाइको समावेशी ढाँचा सम्बन्धी ३ दिने शिक्षक तालिमा सहभागी भएको व्यहोरा प्रेरणा संस्थाको परियोजना संयोजक जगदिप बन्ठाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ