एक साताभित्र प्रहरी समायोजन नगरिए मधेश सरकारले आन्दोलन गर्ने

समाचार

जनकपुरधाम, २२ साउन । एक साताभित्र प्रहरी समायोजन नगरिए मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न मधेश सरकारले प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो ।

गृह तथा संचारमन्त्री भरत प्रसाद साहको नेतृत्वमा गएको मन्त्रीहरुसहितको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको ब्यवस्था गरेको तथा अनुसुचि ६ को कम संख्या १ मा प्रहरी, शान्ती सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेपनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुँदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेको हो ।

प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्रीलाई यसअघि नै ज्ञापनपत्रसमेत बुझाई सकेको स्मरण गराउँदै मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन नगरिए शान्तीपूर्ण अहिंसात्मक आन्दोलन गर्न वाध्य हुने चेतावनी समेत दिएका छन् ।

मधेश सरकार को आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशको गृहमन्त्री स्तरीय भेलाले यथाशीघ्र समायोजन हुनुपर्ने मागसहितको घोषणा पत्र समेत जारी गरेको थियो ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, कृषिमन्त्री विजय कुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा सहित सहभागी रहेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख मिश्रले ध्यानाकर्षणपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ