जनकपुरधाम, २२ साउन । मधेश प्रदेशका मुख्यमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश समितिले सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।
मधेश प्रदेशसभाका सभामुख सरोज यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट लोकतान्त्रिक विद्यार्थी युनियन मधेश प्रदेश समितिका अध्यक्ष मिथलेश यादवको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितता प्रकरणमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी नैतिकताका आधार प्रदेशसभामा बस्ने अधिकार गुमाइसकेको ठहर विद्यार्थी युनियनको छ ।
विद्यार्थी युनियनका प्रदेश कमिटी अध्यक्ष मिथलेश यादव, केन्द्रीय विद्यार्थी नेता रोशन मिश्र तथा प्रदेश स्तरीय विद्यार्थी नेता त्रिदेव मिश्र, लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला सचिव सिद्धार्थ चौधरी लोकतान्त्रिक युवा संघ जिल्ला अध्यक्ष प्रशान्त झा, जिल्ला विद्यार्थी नेता उमेश दास लगायतका जिल्ला स्तरीय युवा विद्यार्थी नेताको उपस्थितिमा मधेश सरकारको सभामुखलाई बुझाएको हो ।
यस्तो ज्ञापनपत्र:
माननीय सभामुख ज्यू,
प्रदेश सभाको कार्यालय,मधेस प्रदेश
जनकपुरधाम,धनुषा ।
विषय:- ज्ञापनपत्र
मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र र मधेसी नागरिकलाई राष्ट्रमा पहिचान, सम्मान र स्वाभिमान स्थापित गर्न हामी युवा विद्यार्थी आफ्नो ज्यान समेतको आहुती दिई आफ्नो त्याग, तपस्या, समर्पण र संघर्ष गरेको कुरा सर्व विदितै छ । त्यसै गरि हाम्रो महान तथा गौरवशाली विद्यार्थी संगठन लोकतान्त्रिक विद्यार्थी संघ शौक्षिक क्षेत्रको आमूल परिवर्तन, वैज्ञानिक समाजवादी शिक्षाका लागि निरन्तर संघर्ष, आम विद्यार्थीहरुको हक अधिकार स्थापित गर्न, भ्रष्टाचार निर्मुल गर्न र समाजमा भएका सबैखाले समस्या समाधानको लागि राष्ट्रियता, सुशासन, अधिकार र न्यायको पक्षमा संघर्ष गर्दै आइरहेका छौं। हालै हाम्रो यस मधेस प्रदेश बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले मिति २०७९ श्रावण १८ गते प्रेस विज्ञप्ति जारी गरि मधेश प्रदेशको " मुख्यमन्त्री बेटि पढाऊ बेटि बचाऊ " कार्यक्रममा अनियमितता भएको भनी विषयमा आरोपपत्र दायर गरिएको विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
मधेस प्रदेशमा महिलाहरुको आर्थिक, सामाजिक र शौक्षिक अवस्था कम्जोर रहेको सन्दर्भमा छोरीहरुको चौतर्फि ब्यक्तित्व विकास एवम् सशक्तीकरणको लागि उनीहरुको शिक्षामा पहुँच सुनिश्चित गर्दै लोक कल्याणकारी राज्यको भावना अनुरुप लौङ्गिक विभेद मुक्त समाजको स्थापना मार्फत समग्र समाजकै रुपान्तरणको परिकल्पनालाई सार्थक तुल्याउन प्रदेश सरकारबाट " मुख्यमन्त्री बेटि पढाऊ बेटि बचाऊ " अभियान कार्यक्रम उच्च मनोवलका साथ प्रदेशका आठ वटै जिल्लाका सामुदायिक बिधालयहरुमा अध्ध्ययनरत्त छात्राहरुलाई सहज ढङ्गले बिधालयमा आओस् भन्ने अभिप्रायले कक्षा आठ (८) मा अध्धयनरत्त छात्राहरूलाई साइकल वितरण कार्यक्रम संचालनमा ल्याइएको छ ।
अख्तियार दुरुपयोग आयोग टंगाल, काठमाडौं अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मधेस प्रदेश जनकपुरधामबाट साइकल खरिद प्रक्रिया शुरु गर्दा देखि भुक्तानी कार्य गर्दा सम्म मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु र साइकल आपूर्तिकर्ताले नेपाल सरकार/प्रदेश सरकारलाई बदनियतपुर्वक रु १०,३३,००,७५८/- (अक्षरेपी दश करोड तेत्तीस लाख सात सय अन्ठाउन्न रुपैया) हिनामिना एवं हानी नोक्सानी गरेको भनी पुष्टि गरि सम्मानित विशेष अदालतमा मुद्दा समेत दायर गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट मुख्यमन्त्रीकै नाममा संचालित कार्यक्रम र सो कार्यक्रमलाई कार्यन्वयन गर्ने र बिधलयहरुमा साइकल वितरण गर्ने कार्य स्वंम मुख्यमन्त्रीद्वारा नै भएको हुँदा यस भ्रष्टाचारमा प्रत्यक्ष मुख्यमन्त्री पनि दोषी रहेको भनी हाम्रो ठहर छ। यति मात्र नभई मुख्यमन्त्री कार्यालयद्वारा संचालित स्वच्छता अभियान अन्तर्गत सार्वजनिक जग्गा तथा सामुदायिक बिधालयमा शौचालय निर्माण, पोखरी सौन्दर्यकरण, कोभिड अस्पताल निर्माण, जानकी मन्दिर सौन्दर्यकरण, विमा योजना, मधेस स्वास्थय बिज्ञान प्रतिष्ठान आदि जस्ता कार्यक्रममा पनि अनियमितता भएको भनी हाम्रो ठहर्याई रहेको छ ।
तसर्थ यी सबै कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट संचालनमा रहेको हुँदा यिनमा संलग्न रहेका भ्रष्ट कर्मचारी र यिनलाई संरक्षण दिने नाइके स्वमं यस प्रदेशको मुखिया मुख्यमन्त्री नै रहेको हुँदा मुख्यमन्त्री स्वमंले नौतिकताको हिसाबले राजिनामा दिई प्रदेशलाई नैतिक आचरणयुक्त प्रदेश निर्माणमा सहयोग गर्नु पर्थ्यो तर मुख्यमन्त्रीद्वारा हालसम्म राजिनामा नआएको हुँदा हामीले माननीय प्रदेश प्रमुख ज्युलाई यहि मिति २०७९/०४/२० गते मुख्यमन्त्री लालबाबु राउतको बर्खास्तीका लागि जोडदार माँग गर्दै ज्ञापनपत्र बुझाएका बारे माननीय सभामुख ज्युलाई जानकारी गराउन चाहन्छौं।
तसर्थ भ्रष्ट मुख्यमन्त्रीलाई बर्खास्तको मार्ग प्रशस्त गर्न संविधान प्रदत्त माननीय सभामुख ज्युबाट समेत कानुनी अधिकार प्रयोग गरि भ्रष्ट मुख्यमन्त्रीलाई कानुनको दायरा भित्र ल्याउन आग्रह गर्दछौं । यस मधेस प्रदेशको गरिमा, करोडौं मधेसी जनताको आशा र भाग्य निर्माताको पवित्र मन्दिर, सयौं सहिद र लाखौं आन्दोलनकारीको रगतले निर्मित आशा र भरोसाको केन्द्र अर्थात गरिमामय प्रदेश सभा भित्र मुख्यमन्त्री लालबाबु राउत बस्न नैतिक हिसाबले अधिकार गुमाइ सकेको हुँदा यीनलाई बर्खास्त गरी मधेस प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउन र प्रदेशको गरिमा जोगाउन हामी मा. सभामुख सामु हार्दिकताका साथ आग्रह गर्दछौ।अन्यथा जनभावनाको बिपरीत गई मुख्यमन्त्रीले प्रदेशको गरिमा माथी ठेस पुग्ने कार्य गरेमा हामी बाध्य भएर जनता सामु प्रदेश रक्षाको निम्ति कडा संघर्ष मा उत्रिन बाध्य हुनेछौ र श्रीलंकाका जनता झै भ्रष्ट जनप्रतिनिधिलाई कार्वाही गर्न बाध्य हुने भनी यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं ।
धन्यवाद !
मिथलेश यादव
प्रदेश अध्यक्ष
मधेस प्रदेश कमिटी,जनकपुरधाम
तपाईको प्रतिक्रिया