मधेश सरकारको भ्रमण रद्द

समाचार

जनकपुरधाम, २८ साउन । संघीयता कार्यान्वयनको मोडल अध्ययनका लागि स्वीटजरल्याण्ड भ्रमणमा जाने तयारीमा रोक लागेको छ ।

संघीय सरकारले मधेश प्रदेश सरकारको स्विजरल्यान्ड भ्रमण रद्द गरेको हो । संघीय सरकारले मन्त्रिपरिषद्बाट भ्रमणको अनुमोदन नगरेपछि भ्रमण रद्द भएको छ ।

मुख्यमन्त्री मो.लालबाबु राउत नेतृत्वको टोली अगामी भदौ ६ गते स्विजरल्यान्ड भ्रमणमा जाने तयारी गरेको थियो । प्राविधिक कारणले भ्रमण रद्द भएको मधेश सरकारका एक मन्त्रीले बताए ।

संघीय सरकारले भ्रमणको लागि अनुमति नदिएको र चुनावको मिति पनि तय भएका कारणले हालका लागि मधेश प्रदेश सरकारको मुख्यमन्त्री सहितको टोली भ्रमणमा नजाने भएको हो ।

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले गत असार ३१ गते स्विट्जरल्यान्ड भ्रमणमा जाने निर्णय गरेको थियो । त्यसपछि प्रदेश सरकारको टिम रातो पासपोर्ट र भिसा आवेदनका लागि साउन पहिलो साता काठमाडौँ पुगेको थियो ।

संघीय सरकारले निर्णय नगरेपछि प्रदेश सरकारको भ्रमण स्थगन भएको छ । सबै पार्टीको प्रतिनिधित्व हुने गरी भ्रमण टोली बनाइएको थियो ।

उक्त टोलीमा मुख्यमन्त्री राउतसँगै मधेश प्रदेशका सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, गृह तथा सञ्चारमन्त्री भरत साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवको नाम समावेश गरिएको थियो ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट प्रदेशसभा सदस्य रानी शर्मा, नेकपा (एमाले) की प्रदेशसभा सदस्य शारदादेवी थापा, प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवलगायतको नाम भ्रमण टोलीमा प्रदेश सरकारले राखिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ