काठमाडौं, २९ साउन । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भइसकेको नागरिकता संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मै फिर्ता पठाएकी छन् ।
झन्डै दुई सातादेखि शितलनिवासमा विचाराधीन रहेको उक्त विधेयकलाई प्रमाणीकरण नगरीकन फिर्ता पठाएकी हुन् ।
राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै त्यसबारे जानकारी दिएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ।“
संसद्बाट बहुमतले पारित भएको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित कतिपय राजनीतिक दल र नागरिक समूहहरूले उक्त विधेयक फिर्ता पठाउन माग गरेका थिए ।

तपाईको प्रतिक्रिया