दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पुनः विधेयक पठाउँछौं : अध्यक्ष यादव

समाचार

जनकपुरधाम, ३० साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले फिर्ता पठाउँदै विधेयक निष्कृय नहुने दावी गरेका छन् ।

अध्यक्ष यादवले चाँडै पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर पुनः विधेयक पठाउने प्रतिबद्धता जनाएका छन् ।

जनकपुरधाममा सोमबार आयोजित पिछडा वर्ग महासंघको मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कुनै पनि नागरिकलाई नागरिकताबाट बंचित नगरिने भनि संविधानले नै सुनिश्चित गरिसकेकोले नेपाली नागरिकका सन्तानहरुलाई नागरिकताबाट वंचित गर्ने प्रपंच गरिए जसपा सडक र सदन दुबै ठाँउमा आन्दोनलको आँधी बहेरी ल्याउने चेतावनीसमेत उनले दिएका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएर आफै माथि ठूलो प्रश्न उब्जाएको उनको कथन थियो ।

अध्यक्ष यादवले ओली सरकारले यही व्यहोराको अध्यादेश ल्याउदा तत्कालै प्रमाणीकरण गरेको राष्ट्रपतिले संसदबाट पास विधेयक फिर्ता गर्नुले उहाँ मुलुकको राष्ट्रपति हो की एमालेको कार्यकर्ता भनि प्रश्न उब्जिएको आरोप लगाए ।

उनले भने, ‘यस्तै व्यहोराको अध्यादेश ओली सरकारले ल्याउँदा के विना पढि कुनै प्रमाणीकरण गर्नु भएको थियो ? होइन भने उहाँको यस कदमले उहाँ माथि नै प्रश्न उब्जाएको छ । उहाँले राष्ट्रपतिको रुपमा नभइ एमालेको कार्यकर्ताको रुपमा फिर्ता पठाउनु भएको हो जस्तो आम नागरिकले बुझेका छन् ।’

नागरिकताविहीन नेपाली नागरिकका लाखौ सन्तानहरुलाई नागरिकता उपलब्ध गराउने उद्देश्यले ल्याइएको विधेयक फिर्ता हुनुले मुलुकमा ठूलो षड्यन्त्रको गन्ध आउन थालेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ