प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔ : उपेन्द्र यादव

समाचार

जनकपुरधाम, ३१ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतीय प्रणाली एक मात्र विकल्प रहेको बताएका छन् ।

समाजवादी युवा संघ नेपालको जनकपुरधाममा मंगलबारबाट शुरु राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता बढाएकोले त्यसलाई अन्त्य गरि राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिको बाटोमा लाग्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीको विकल्प नरहेको उल्लेख गरेका हुन् ।

‘अहिलेको व्यवस्थाले निर्वाचन प्रणाली महंगिएको छ, करोडौ खर्चेर चुनाव जितेकाहरु बाट सेवाको अपेक्षा गर्न सकिदैन ’अध्यक्ष यादवले भने, ‘निर्वाचन प्रणाली फेरौं, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसदीय निर्वाचनमा जाऔं । त्यसले भ्रष्टाचार नियन्त्रण गर्नुका साथै समृद्धिको बाटोमा लाग्न मद्दत पु¥याउँछ ।’

सांसदहरु मन्त्री बन्ने व्यवस्थाको अन्त्य भए चुनावमा हुने खर्च आफै नियन्त्रित हुने र भ्रष्टाचार पनि अन्त्य हुने उनको कथन थियो ।
हतारमा ल्याइएको संविधानको वेथितिहरु एक पछि अर्को उजागर हुन थालेको उल्लेख गर्दै अध्यक्ष यादवले पहिचान सहितको संघीय पुनःसंरचना र निर्वाचन प्रणालीको विषयमा संविधान संशोधनको विकल्प नरहेको उनले दावी समेत गरे ।

परिवर्तन, सृजना, निर्माण, अविस्कारको पर्याय रहेका युवाहरु चेतनशिल र संगठित हुनु पर्ने आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष यादवले युवाहरुको लागि राज्यले शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नु पर्ने उल्लेख गरे ।

उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले परिवर्तनका सम्वाहक रहेका युवाहरु जसपाको प्रमुख प्राथमिकतामा शुरुदेखि रहदै आएको र त्यसै अनुरुप आफनो नेतृत्वको मधेश सरकारले युवाहरुको शिक्षा र रोजगारको क्षेत्रमा अघि बढेको बताए ।

युवाहरुको पहिलो आवश्यकता शिक्षा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले शिक्षामा आमूल परिवर्तनका लागि प्रदेश सरकारले तीनतीन वटा विश्वविद्यालय स्थापना गरेर काम अघि बढाइ सकेको बताए ।

उनले मधेशका युवाहरुलाई प्रदेशमै रोजगार उपलब्ध गराउन प्रदेश निजामति ऐन, प्रदेश प्रहरी ऐन ल्याई त्यसमा जनसंख्याको आधारमा आरक्षण एवं महिलाको लागि ५० प्रतिशत आरक्षण व्यवस्था समेत गरेको बताए ।

युवा संघ अध्यक्ष एवं मधेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जसपाका कार्यकारिणी सदस्य सुशिला श्रेष्ठ, राजनीतिक समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादव, राजनीतिक समिति सदस्य लालकिशोर साह, प्रदेश सभा सदस्य राम अशिष यादव, अशोक यादव सहितका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ