इमरान खान, कपिलवस्तु, २ भाद्र । लुम्बिनी प्रदेश सरकारले मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्षमा कपिलवस्तुका मशहूद खाँलाई नियुक्त गरेको छ ।
मदरसा शिक्षालाई मूलधारमा ल्याउन बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मौलाना खाँलाई उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।
मशहुद खाँ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.३ का स्थायी बासिन्दा हुन् । यसअघि शंकर पोखरेल मुख्यमन्त्री भएका बेलासमेत मशहूद खाँलाई उपाध्यक्षमा नियुक्त गरेका थिए ।
यद्यपि उनको शपथ गर्ने र जिम्मेवारी सुम्पने काम भएको थिएन । खाँ यसअघि मदरसा संघका केन्द्रीय महासचिव रहेका थिए । भाषा आयोग र पाठ्यक्रम विकास केन्द्रको उर्दू विज्ञसमेत रहेका छन् ।
उनी मदरसाबाट फजिलत (स्नाकोत्तर) गरेका र उर्दु फाजिजामिया सिराजुल उलुम र जमियत अलहेराको प्रवक्ता रहेका छन् । उनी मातहतका सदस्यहरु शिक्षा तथा खेलकुद मन्त्रालयले नियुक्त गर्नेछ ।
जसको अध्यक्ष शिक्षा तथा खेलकुदमन्त्री रहने नियम रहेको छ । यसअघि लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ तयार गरेको थियो ।
त्यसमा मुस्लिम समुदायको अरबी र उर्दू भाषामा अध्यापन र तालीम दिने शैक्षिक संस्था मदरसालाई व्यवस्थापन गर्न समन्वय समिति गठन गर्ने उल्लेख छ ।
लुम्बिनीमा करिब ७ प्रतिशत मुस्लिम रहेका छन भने झण्डै १ हजार मदरसा रहेको छ । त्यसमा मान्यता प्राप्त ४ सय १७ मदरसा रहेको छ ।
तपाईको प्रतिक्रिया