काठमाडौँ, १२ भदौँ । राष्ट्रियसभाले नागरिकतासम्बन्धी विधेयक विधायन समितिमा पठाएको छ ।
आइतबार बसेको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नागरिकता (पहिलो संशोधन) २०७९ विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाइएको हो । यो विधेयकमाथि पुनर्विचार गर्न विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने गृहमन्त्री बालकृष्ण खाँणको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि यसलाई समितिमा पठाइएको हो । यसअघि, बैठकमा नागरिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सन्देश सुनाइएको थियो ।
संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको यो विधेयकका केही विषयमा सुझाव र सन्देशसहित पुनर्विचार गर्न राष्ट्रपति भण्डारीले पुनः संघीय संसदमा फिर्ता पठाएकी थिइन् ।
तपाईको प्रतिक्रिया