मधेश विद्रोहका मुद्दाहरु संस्थागत गर्न “लोकतान्त्रिक मधेशी फ्रन्ट” गठन

समाचार

जनकपुरधाम, १४ भाद्र । मधेश विद्रोहका मुद्दाहरुलाई सही दिशामा अग्रसर गर्दै संस्थागत गर्ने उद्देश्यका साथ ‘लोकतान्त्रिक मधेशी फ्रन्ट’ घोषणा भएको छ ।

मधेशकेन्द्रित दलहरु तराई–मधेश लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टीले संयुक्तरुपमा मंगलबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरी लोकतान्त्रिक मधेशी फ्रन्टको घोषणा गरेका छन् ।

मधेश विद्रोहका मुद्दाहरुलाई संस्थागत गर्न तथा विकासको पारदर्शी स्पष्ट रणनीतिका साथ मधेश र देशलाई संघीयताको अभ्यासमा अघि बढाउन तमलोपा र नेसपाबीच सहकार्यको सहमति भएको हो ।

लोकतान्त्रिक मधेशी फ्रन्टको नीति तथा कार्यक्रम तयार गर्न, आवश्यक निर्णय र सञ्चालन गर्न ६ सदस्यीय परिचालन समितिसमेत गठन गरिएको छ ।

लोकतान्त्रिक मधेशी फ्रन्ट परिचालन समितिमा तमलोपाका वरिष्ठ नेता डा.विजयकुमार सिंह, नेसपाका वरिष्ठ नेता प्रो.राजेन्द्र प्रसाद सिंह कुशवाहा, नेसपाका सहमहासचिव डा.रविन्द्र कुमार चौधरी, तमलोपाका रविशंकर कुमार कर्ण, विभा ठाकुर र नेसपाका प्रो.बालकेश्वर ठाकुर रहेका छन् ।

तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र नेसपाका अध्यक्ष रामकुमार महतोले संयुक्तरुपमा जारी गरेको वित्रप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक मधेशी फ्रन्ट मधेश आन्दोलनका मुद्दाहरुप्रति प्रतिबद्ध सबै लोकतान्त्रिक शक्तिहरुलाई यस एकजुटता अभियानमा सहभागिताका लागि आह्वान गर्दछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ