काठमाडौं, १४ भाद्र । आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उम्मेद्वारहरुको नाम पठाउन प्रदेश र जिल्ला समितिहरुलाई परिपत्र गरेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले मंगलबार एक परिपत्र जारी गर्दै सबै प्रदेश र जिल्लाका अध्यक्षलाई परिपत्र जारी गरेका छन् ।
परिपत्रअनुसार भाद्र १९ देखि २१ गतेसम्म प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको बैठकबाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फ सहमति भए एक जना अन्यथा एक जना महिलासहित अधिकतम् तीन जना उम्मेद्वार सिफारिस गर्नुपर्नेछ ।
यस्तै, प्रत्यक्षतर्फ प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख) बाट सहमति सहमति भए एक जना एक जना महिलासहित अधिकतम् तीन–तीन जना उम्मेद्वारहरु सिफारिस गर्नुपर्ने, तदनुरुप प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको बैठकबाट समानुपातिक तर्फ एवं प्रदेशसभा समानुपातिक तर्फको उम्मेद्वारहरु सिफारिस गर्न परिपत्र गरिएको हो ।
समानुपातिक तर्फ सिफारिस गर्दा महिलालाई प्राथमिकता दिनुपर्ने एवं यथासम्भव आदिवासी जनजाति, खसआर्य, थारु, दलित, मधेशी तथा मुस्लिम अनुसारको कलस्टरबमोजिम नाम पठाउन अध्यक्ष ठाकुरले परिपत्रमा भनेका छन् ।
यस्तै, प्रदेश समिति गठन हुन नसकेको प्रदेशहरुमा जिल्ला समितिले भाद्र २४ गतेसम्म उम्मेद्वारहरुको विस्तृत विवरण सिफारिससहित केन्द्रीय कार्यकारिणी समितिमा पठाउनुपर्ने छ ।
प्रत्यक्ष एवं समानुपातिक तर्फको नाम सिफारिस गर्दा उम्मेद्वारहरुको छोटकरीमा पृष्ठभूमिसहित सिफारिस गर्नुपर्ने परिपत्र गरिएको हो ।
तपाईको प्रतिक्रिया