समावेशितासहितको संघीयता संस्थागत गर्ने जिम्मा हाम्रो काँधमा : यादव

समाचार

जनकपुरधाम, २५ भाद्र । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शहीदहरूको शहादतबाट प्राप्त समावेशिता सहितको सङ्घीयताको मुद्दा संस्थागत गर्ने जिम्मा आफूहरूको काँधमा रहेको बताएका छन् ।

२०७२ साल भाद्र २५ गते शहादत भएका शहीदहरूको स्मरणमा जनकपुरधाममा निर्माण गरिएको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

उनले सङ्घीयता तथा समावेशिता सहितको मुद्दाबाट पार्टी कुनै पनि हालतमा पछाडि नहटाउने बताएका थिए ।

आन्दोलनको क्रममा शहादत भएका शहीदहरू सञ्जय चौधरी, दिलीप यादव र नितु यादव सहितका अन्य सहिदहरूको स्मृतिमा जनकपुरधाम उपमहानगरपालिकाले शहीद द्वारको निर्माण गरेको हो ।

जनता समाजवादी पार्टी नेपालका जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेवको साहको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा राजनीति समिति सदस्य लालकिशोर साह, केन्द्रिय सदस्य एवं प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सरकारको पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, वडा अध्यक्ष पुण्यप्रताप यादव लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ