जनकपुरधाम, २७ भाद्र । कार्यपालिकाद्वारा प्रस्तुत र व्यवस्थापिकाद्वारा दुई–दुई पटक पारित नेपाल नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरणमा अर्घेलो खडा गर्ने अनुचित हस्तक्षेप भएको लोकतान्त्रिक मधेशी फ्रन्टले भनेको छ ।
सोमबार डा.विजय कुमार सिंहको अध्यक्षतामा बसेको लोकतान्त्रिक मधेशी फ्रन्टको बैठकले नागरिकता विधेयक प्रमाणीकरणमा अर्घेलो खडा गर्ने जस्तो गतिविधि संविधान विपरीतको र व्यवस्थापिका तथा कार्यपालिकाको कार्यमा अनुचित हस्तक्षेप गर्ने कार्य रहेको निर्णय गरेको छ ।
फ्रन्टले यसको घोर विरोध गरेको छ । संविधानको संरक्षण गर्ने शपथ लिने राष्ट्रपतिबाट नै संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन गम्भीर आपत्तिजनक र पूर्णतः अस्वीकार्य रहेको फ्रन्टले भनेको छ ।
राष्ट्रपतिको यस्तो असंवैधानिक कार्यविरुद्ध असोज ३ गते काला दिन समेतको स्मरण गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यसैगरी, फ्रन्टले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्रहरुको अध्ययन गरी सम्भावनानुसार आपसी सहमतिमा संयुक्त उम्मेद्वारहरु प्रस्तुत गर्ने निर्णय गरेको हो ।
सो बैठकले योग्य र स्वच्छ जनप्रतिनिधि नै लोकतन्त्रको मूल स्तम्भ भएको हुनाले लोकतान्त्रिक मधेशी फ्रन्ट सक्षम योग्य व्यक्तिहरुलाई अगाडि आउन आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया