कैलाली, २८ भाद्र । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्याङ्क अनुसार कैलाली जिल्लामा डेंगुका बिरामी बढ्दै गएको छ ।
कैलालीका हरेक पालिकामा डेंगु फैलिसकेकाले सबैलाई सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।
अहिले डेंगु बढी फैलिने समय भएकाले सबै सरोकारवाला निकाय तथा नागरिकहरूलाई डेंगु नियन्त्रणमा जुट्न अपिल गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
लम्कीचुहा, टीकापुर, जानकी, जोशीपुर, भजनी, गोदावरी तथा धनगढी लगायतका पालिकामा डेंगुको संक्रमण बढी देखिएको हो ।
कुनै स्थानमा एक जना डेंगुका बिरामी भेटिएमा त्यो वरपर करिब १ हजार जनामा डेंगु फैलिसकेको हुन सक्ने भएका कारण नागरिकहरूले झनै सतर्कता अपनाउनु पर्ने जिल्ला स्वास्थ्य कार्यालयले बताएको हो ।
डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय कैलालीले स्थानीय पालिकालाई लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्न आग्रह गर्नुका साथै कीटनाशक औषधी पनि पालिका स्तरमा पुगाइसकेकाले अव लामखुट्टे मार्ने औषधी पनि छर्किने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा गत वर्ष भन्दा यस वर्ष डेंगुका बिरामी बढेका र असारदेखि कार्तिक महिनासम्म डेंगुको प्रकोप देखिन सक्ने भएकाले आफ्नो घर वरिपरि तथा टोल छिमेकमा पानी जम्ने स्थान छन् भने त्यसलाई सफा राख्न पनि स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
कैलालीमा चालु आर्थिक वर्षको अहिलेसम्म २ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ ।
तपाईको प्रतिक्रिया