काठमाडौं, १ असोज । मधेशी आयोगका अध्यक्ष डा .विजयकुमार दत्तले असोज महिनामा मनाइने जितिया (जितुवाहन) पर्व मधेशी महिलाहरुको लागि सबै भन्दा कठोर पर्व रहेको बताएका छन् ।
आयोगका अध्यक्ष डा.दत्तले जितियाको अवसरमा शुभकामना संदेश जारी गर्दै जितिया पर्वमा मधेशी महिलाहरुले ३६ घण्टा भन्दा बढी अनवरत उपासना गर्ने बताएका हुन् ।
नेपाल सरकारले मधेशी आयोगका सिफारिसमा जितिया पर्व गर्ने महिलाहरुको लागि राष्ट्रिय विदा दिने समेत निर्णय गरेको सो संदेशमा उल्लेख गरिएको छ ।
मधेशी आयोगले अध्यक्ष डा.दत्तको अध्यक्षतामा आयोगमा विशेष कार्यक्रम आयोजना गरि जितिया पर्वको शुभकामना आदान प्रदान समेत गरेको अध्यक्ष डा.दत्तको सचिवालयले जानकारी दिएको छ ।
जितिया पर्वमा विशेष गरी मधेशी मूलका महिलाहरुले सन्तानको लामो आयुको लागि अखण्ड, निर्जला तथा कठोर व्रत राख्ने गरेका छन् । यस वर्ष जितिया पर्व असोज २ गते रहेको छ ।
तपाईको प्रतिक्रिया