रुपन्देही, २७ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरूले लुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले ओलम्पिक टर्च र्यालीका संयोजक उमेश मास्केलाई शान्ति दीपबाट टर्च बालेर हस्तान्तरण गरेका छन् ।
मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने सात सदस्यीय टोलीले शान्ति दीपबाट दियो (टर्च) लिएर शुक्रबार पोखरा पुग्नेछ ।
खेलाडीहरूले बिहीबार बिहान शान्ति दीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी पोखरातर्फ गएका छन् ।
लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरूलाई स्वागत गरिएको थियो । उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन् ।
नेपाल खोखो संघका महासचिव समेत रहनुभएका सदस्यसचिव शाक्यले लुम्बिनीको पवित्र भूमिबाट लिएर जाने शान्ति दीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताए ।
तपाईको प्रतिक्रिया