‘महन्थ ठाकुरको छोरीलाई राजनीतिमा ल्याउँदा आपत्तिजनक विषय होइन’

समाचार

डा.सुरेन्द्र झा, नेता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

० लोकतान्त्रिक समाजवादी पार्टी नेपाल खुम्चिँदै गएको छ नि ?

— यो सन्दर्भ लोसपाको मात्रै होइन । २०६३ देखि तीन वटा मधेश आन्दोलन भयो । तत्पश्चात् मधेशी जनताले जुन शक्ति र सामथ्र्य दिए त्यसअनुसार यी पार्टीहरुले जुन भूमिका खेल्नु पर्दथ्यो, सबै पार्टी संस्थागत हुन नसकेको अवस्था हो । हामीले मुद्दा उठायौं, उपनिवेशीकरणको शिकार भएका तराई–मधेशका नागरिकलाई समानताको हक स्थापना गर्ने गरी अगाडि बढ्नुपर्छ । मधेशी जनताले हामीलाई विश्वास गरेकै हो । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको विपक्षमा संघर्ष गरेर स्थापित भएको जसपा र लोसपा हो । तर, दुर्भाग्य नै भन्नुपर्दछ कि यो निर्वाचनसम्म आइपुग्दा यी दुईटै पार्टी अन्ततः केही थान सांसद पाउनका लागि कोही एमालेको पछि लाग्ने त कोही कांग्रेसको पछि । विगत डेढ दशक यता दुवै पार्टीका नेतृत्वले सही नेता कार्यकर्तालाई काखापाखा लगाउँदे आए । मधेशकेन्द्रित शक्तिहरु आज एजेण्डालाई खालमा राखेर केही थान सांसद पाउनका लागि पुरातन शक्तिको अगाडि समर्पण गरेको अवस्था निश्चितरुपले हो ।

० मधेशकेन्द्रित भएर खोलिएका जसपा र लोसपा यो निर्वाचनपछि समाप्तिको अवस्थामा पुग्न लागेको हो ?

— सही विश्लेषण हुन सकेको छैन । मधेश आन्दोलनबाट स्थापित भएका जसपा र लोसपाका शीर्ष नेतृत्वले राम्रो ढंगले राजनीतिक विश्लेषण गर्न चुकेको छ । दुबै पार्टीका शीर्ष नेतृत्वले हामी एउटा उद्देश्यको साथ आएको हो भन्ने बिर्सिनुभयो । मधेशी जनताले जुन कार्यभार पूरा गर्न जनमत दियो, त्यो ओझेलमा पर्दै गएको छ । सत्ताको भुलभुलैयामा अधिकतर समय खर्च गरेर फेरि हामी त्यहीं पुरातन शक्ति कांग्रेस, एमालेले हामीलाई जे दिन्छ, त्यो प्राप्त गरेर खुशी हुनुभन्दा यी दलहरुसँग अर्को विकल्प छैन ।

० भनेपछि, जसपा र लोसपाले मधेश आन्दोलनका एजेण्डाहरु अब पूरा गर्ने अवस्थामा छैन ?

— अहिले नेतृत्वमा रहेका पात्रहरु जुन ढंगले अगाडि बढ्दै हुनुहुन्छ, त्यहाँ एकपछि अर्को प्राविधिक त्रुटीहरु हुँदै गयो । तर, यसबाट मधेशको राजनीति वा आन्दोलन समाप्त हुन्छ भन्ने मलाई लाग्दैन । मधेश आन्दोलनमा लागेका योद्धाहरुलाई पुनर्गठन गर्नुपर्ने अवस्था छ । मधेशमा नयाँ संगठन निर्माण अवस्था पनि उत्तिकै छ । केही नेताहरु विशेषरुपमा खुम्चिन सक्नुहुन्छ, तर मधेश आन्दोलन नै समाप्त भएको होइन । किनभने मधेश आन्दोलनमा लागेका जसपा र लोसपा दुवै पार्टीमा दोस्रो तहका सयौं नेताहरु हुनुहुन्छ । क्रान्तिकारी धारलाई हामी फेरि उठाउँछौं ।

० दोस्रो तहका क्रान्तिकारी धार भएका नेताहरु त ओझेलमा पर्दै गएका छन् नि ?

— राजनीतिक सिद्धान्त बुझेर, मानेर आएका साथीहरु राजनीतिक सिद्धान्तका लागि संघर्ष गर्छन् । तर यहाँ त टपक्क टिपेर पुँजीपतिलाई ल्याइदिने, परिवारकै सदस्यहरुबाट उन्मुक्ति नपाउने । तिनीहरुको जमात धेरै भएर राजनीतिक सिद्धान्त बुझेर आएका नेता कार्यकर्ताहरु ओझेलमा परेका हुन् । त्यसैले यसको शुद्धिकरण हुनुपर्छ । अर्को कुरा नेतृत्वमा देखिएका पात्रहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतोहरुको कार्यको मूल्यांकन हुनुपर्छ । किनभने डेढ दशकदेखि उहाँहरु नेतृत्वमा हुनुहुन्छ । उहाँहरुले तीन–तीन वटा आन्दोलनको नेतृत्व गर्ने अवसर पाउनुभो । आन्दोलनबाट भएका क्षति र त्यसबाट प्राप्त भएका उपलब्धिको पनि हामीले तुलना गर्न सक्नुपर्छ । अब उहाँहरुबाट नवीन कार्यको परिकल्पना गर्न सकिँदैन । त्यसैले उहाँहरुलाई अब अभिभावकको जिम्मेवारी दिएर नयाँ पुस्तामा पार्टीलाई रुपान्तरण गर्न सक्नुपर्छ । त्यो गर्न सक्नुभयो भने इतिहासमा उहाँहरुले सम्मान पाउन सक्ने हो । जसपा वा लोसपा उहाँहरुको गोजीको पार्टी होइन नि, उहाँहरुको बाउबाजेले बिर्तामा दिएको पार्टी होइन । यो हाम्रो खुन पसिना र हजारौं–लाखौं जनताको भावनाले बनेको पार्टी हो । दुर्भाग्य के हो भने यी पार्टीहरुमा अधिवेशन हुँदैन ।

० आगामी चुनावपछि मधेश प्रदेशमा मधेशी दलको नेतृत्वमा सरकार बन्ने सम्भावना देख्नुहुन्छ ?

— जसपाको नेतृत्वमा पूरा कार्यकाल मधेश प्रदेशमा सरकार रह्यो । जसपाले मधेशका नागरिकहरुलाई दुई–तीनटा विषयमा जवाफ दिनैपर्छ । जसपाले जसलाई संघीयता विरोधी, प्रतिगमनकारी भनेर प्रचार ग¥यो, रातारात त्यहीं ओली सामु किन समर्पण गर्न जानुभयो ? जसले रमेश महतोको लाश लुट्यो ती पार्टीलाई रेडकार्पेट ओछ्याएर प्रदेश सरकारमा ल्याइयो । प्रदेश सरकारका विभिन्न भ्रष्टाचारका काण्डहरु देखिएका छन् । यी कुराहरु जसपाका नेतृत्व जनतालाई प्रष्ट पार्नुपर्छ । लोसपाको सवालमा हामीले जम्मा १६ वटा प्रदेशसभामा मात्रै उम्मेद्वारी दिएका छौं । भनेपछि हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने सम्भावना त छैन । त्यसैले, अर्को कार्यकालका लागि सरकार बनाउने हैसियतमा जसपा वा लोसपा पुग्दैन । सरकारमा यी दुवै दलमध्ये एउटाको सहभागिता हुन सक्ला । पूरानै पार्टीहरुले आफ्नो शक्ति बढाउनेछ ।

० लोसपाको समानुपातिकमा परिवारवाद, द्रव्यवाद हावी भयो नि ?

— यस विषयमा पार्टीभित्र आवाज उठेकै हो । २०७४ सालमा हाम्रो पार्टीको जुन समानुपातिक नामावली बन्यो र जुन खालको अप्राकृतिक चलखेल भयो, त्यसको हविगत हामीले पार्टी विभाजन हुँदा देख्यौं । त्यसको असर यसपालि पनि अलिकति देखिएको हो । यसपटक समानुपातिकमा जुन नामावली राखिएको छ, अपेक्षाकृत धेरै परिष्कृत रहेको छ ।

० अध्यक्ष महन्थ ठाकुरको छोरी डा.मिनाक्षी ठाकुरको नाम प्रतिनिधिसभा समानुपातिक नामावलीमा पहिलो नम्बरमै रहेको छ नि ?

— महन्थ ठाकुरजीको जीवन अब अन्तिम परावमा छ । यो निर्वाचनपश्चात् उहाँ पुनः निर्वाचन लड्नुहुन्न । नेपालको लोकतान्त्रिक राजनीतिमा उहाँ एउटा धेरै ठूलो त्याग गरेको, आठ वर्षभन्दा बढी जेलनेल गएको, विगत १५ वर्षदेखि पार्टीको नेतृत्वकै रुपमा चलाइरहनुभएको आफूलाई एउटा लोकतन्त्रवादी, समाजवादी, त्यागलाई केन्द्रबिन्दूमा राखेर बाँच्ने नेतामा उहाँ पर्नुहुन्छ । अहिले पनि समकालीन नेताहरु उहाँ अपवादमै पर्नुहुन्छ । त्यसैले समानुपातिकमा उहाँको छोरीलाई ल्याउँदा यो एउटा पुस्तान्तरण पनि हो । उहाँको परिवारमा राजनीतिकरुपले ठूलो क्षतिहरु भएका छन् । उहाँ २ वर्षको उमेरमा हुँदा आमा बितेको, आजभन्दा ३० वर्ष अगाडि उहाँको पत्नीको देहान्त भएको, उहाँ आफै पनि धेरै कष्टहरुबाट गुज्रिनुभएको, करिब ३५ वर्ष अगाडि छोराको देहान्त भएको, यी सबै हेर्दा उहाँको परिवारबाट राजनीतिमा लाग्ने अरु कोही छैन । उहाँको छोरी सचिवालयमा एउटा प्रमुख सदस्यको रुपमा काम गर्दै आउनुभएको छ । उहाँ उच्च शिक्षा हासिल गरेको महिला हुनुहुन्छ, एउटा डाक्टर हुनुहुन्छ । त्यसैले पेशागत रुपमा उहाँ एकदमै सक्षम महिला हुनुहुन्छ । पिताजीको सचिवालयमा काम गरेको अनुभव पनि उहाँसँग । ठूलो संघर्षशील विरासत भएको नेताको पारिवारिक सदस्य छोरी मात्रै भएकोले छोरीलाई राजनीतिमा ल्याउँदा त्यति आपत्तिजनक विषय होइन । धेरै क्षमतावान र शिक्षित महिला पार्टीमा आउनुभएको छ, यसलाई सहजरुपले लिनुपर्छ ।

० उहाँ त्यति क्षमतावान हुनुहुन्छ भने पिताजीकै क्षेत्रमा प्रत्यक्षमै किन ल्याइएन ?

— प्रत्यक्ष वा समानुपातिक दुवै निर्वाचनकै प्रक्रिया हो । अहिले नै सांसद भइसक्नुभएको छैन । उहाँ आफ्नो पिताजीको सचिवालयमा विगत ५–६ वर्षदेखि काम गर्दै आउनुभएको छ । पार्टीमा उहाँ त एउटा परिचित व्यक्ति हुनुहुन्छ । महन्थ ठाकुरको क्षेत्रमा चुनाव लड्ने खालको व्यक्तित्व डा.मिनाक्षी ठाकुरको बनिसकेको छैन । भविष्यमा जानुहोला । तर, अहिले उहाँ राजनीतिकरुपमा पहिलो पाइला चाल्नुभएको छ । यसलाई हामीले स्वागत गर्नुपर्छ । महन्थ ठाकुरजीकै क्षेत्रमा उहाँ जानुपर्छ भन्ने छैन । किनभने महन्थ ठाकुरजीको राजनीतिक उत्तराधिकारी पार्टीभित्र थुप्रै नेताहरु हुनुहुन्छ । त्यो ठाउँमा जाने स्थिति आयो भने अर्को साथीहरु जानुहोला । अहिले महन्थ ठाकुरजी स्वयम् चुनाव लड्नुभएको छ । उहाँ जनताको मान्छे, जनताको बीचमा, जनताद्वारा बनेको व्यक्तित्व भएकोले उहाँले चुनावलाई एकदम सहजताका साथ लिनुभएको छ । उहाँले मलाई व्यक्तिगतरुपमा भन्नुभएको छ कि, ‘यो मेरो अन्तिम पटकको चुनाव हो । जनताको स्नेह, सम्मान पाएँ भने त्यहीं अनुरुपले भूमिका खेल्छु ।’ त्यसैले उहाँले अन्तिम चुनाव घोषणा गरेरै जानुभएको छ ।

० भनेपछि, डा.मिनाक्षी ठाकुर अब प्रत्यक्ष राजनीतिमा लागिसक्नुभयो ?

— उहाँ राजनीतिमा हुनुहुन्न भन्ने होइन नि । मैले अघि पनि भने कि महन्थ ठाकुरजी दुई वर्षको हुँदा आमा बितेको, आजभन्दा ३० वर्ष अगाडि उहाँको पत्नीको देहान्त भएको, करिब ३५ वर्ष अगाडि छोराको देहान्त भएको, एउटा छोरी मात्र छन्, आज उहाँ ७९ वर्षको हुनुभो । उहाँ राज्यसत्तामा विभिन्न रुपले संघर्ष गर्दै आएको व्यक्तित्व हुनुहुन्छ । त्यस हिसावले परिवारको सदस्य छोरी भएकोले डा.मिनाक्षी ठाकुरको राजनीतिक योगदान छैन भनेर भन्नै मिल्दैन । उहाँले आफ्नो तर्फबाट सहयोग गरिरहनुभएकै छ । उहाँले आफूलाई जहिले पनि लो प्रोफाइलमा राखेर सहयोगात्मक भूमिकामा हुनुहुन्थ्यो । यसपालि उहाँको चाहना भयो, पार्टीले उहाँलाई समानुपातिकमा राखेको छ । हिजोसम्म उहाँ पार्टीको राजनीतिमा हुनुहुन्थ्यो, आज उहाँ औपचारिकरुपले जनताको राजनीतिमा आउनुभयो । उहाँलाई शुभकामना दिऔं ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ