० चुनावको मुखमा संघर्षशील मधेशी मोर्चा गठन किन ?
— स्वाधिन मधेश जनअभियान र तराई मधेश राष्ट्रिय परिषद् मिलेर यो संघर्षशील मधेशी मोर्चाको निर्माण भएको हो । हामीले लामो समयदेखि पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ भनेर आवाज उठाउँदै आएका छौं । अहिलेको चुनाव प्रणाली एकदमै भ्रष्ट र विकृत भएको हाम्रो ठहर छ । यो चुनाव प्रणालीले देशका सम्पूर्ण जातजाति, भाषाभाषीको भावनालाई अंगीकार गर्न नसकेकोले निर्वाचन प्रणाली परिवर्तन गरेर पूर्ण समानुपातिक निर्वाचन लागू हुनुपर्छ । अर्को हाम्रो एजेण्डा भनेको स्थानीय निर्वाचनलाई निर्दलीय बनाउनुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि वि.सं. २०४६ पश्चात जति पनि मन्त्रीदेखि सरकार उच्च ओहदामा पुगेका व्यक्तिहरुको सम्पत्ति विवरण छानबिन गर्नुपर्ने र अनियमितता गरी राखेको सम्पत्ति राज्यले फिर्ता लिइ देश विकासमा लगाउनुपर्ने हाम्रो माग हो । हाम्रा यस्ता मुद्दाहरु राज्यले नसुनेपछि बाध्य भएर हामी चरणबद्ध आन्दोलनमा होमिएका छौं ।
० यस्ता विकृतिहरु हटाउनकै लागि त अहिले देशभरि युवाहरु स्वतन्त्र उम्मेद्वारी दिएका छन् नि ?
— मूल समस्या युवाहरु नबुझेका हुन् वा हामीले बुझाउन सकेका होइनौं । यो देशको समस्याको समाधान मधेशले नै गर्छ । मधेशको सन्दर्भमा युवाहरुले बुझ्नुपर्ने हो कि १६५ प्रत्यक्ष तर्फको प्रतिनिधिसभाको सिट संख्या नै समस्या हो । मधेशमा जम्मा ६० वटा मात्र सिट छन् । सबै मधेशी दलहरु एक भएर चुनाव लड्दा पनि ४० वटासम्म सिट जित्ने अवस्था छैन । युवाहरु अहिले स्वतन्त्रमा उम्मेद्वारी दिएका छन् । तर तिनीहरु जितेर गए भने पनि केही गर्न सक्ने अवस्था छैन । काठमाडौंका मेयर बालेन्द्र शाहको नक्कल गरिरहेका छन् । तर, एउटा कुरा बुझ्नुपर्ने हो कि स्थानीय तह स्वायत्त क्षेत्र हो र संसद स्वायत्त छैन ।
० भनेपछि स्वतन्त्रहरु संसदमा गएपनि केही गर्न सक्दैन ?
— केही पनि गर्न सक्दैनन् । किनभने काम गर्ने भनेको प्रणाली हो । जब प्रणाली नै भ्रष्ट छ भने त्यहाँ जोसुकै गएपनि उस्तै हुन्छन् । यो चुनाव यति खर्चिलो छ कि कम्ती १०–१५ लाख रुपैयाँ खर्च नगरेसम्म जित्दैन । त्यो १०–१५ लाख रुपैयाँ खर्च गरेर आउने युवाहरुले संसदमा आएर यो प्रणालीको विरुद्धमा आवाज उठाउने ओकात राख्नै सक्दैन । यो प्रणाली भनेकै भ्रष्टाचारको जननी हो । जबसम्म यो निर्वाचन प्रणाली फेरिँदैन तबसम्म कसैले पनि इमान्दारिता देखाउन सक्दैन ।
० तपाइँहरुले यो निर्वाचन प्रणाली परिवर्तन गर्न सक्ने हैसियत राख्नुहुन्छ ?
— हाम्रो आन्दोलन देश र जनताको हितमा छ । हामी जनतामा गइरहेका छौं र हामी सफल हुन्छौं । आन्दोलनका चार पाटाहरु हुन्छन् । पहिलो भनेको कुनै पनि आन्दोलनलाई राज्यले बेवास्ता गर्ने । अहिले हाम्रो आन्दोलनलाई बेवास्ता गरेको अवस्था छ । दोस्रो चरण आउँछ हामी सडकमा जान्छौं । जब हामी सडकमा देखा पर्न थाल्छौं अनि राज्यले हामीलाई दबाउने काम गर्छ । त्यसमा पनि आन्दोलन बढ्दै गयो भने अनि तेस्रो चरण आउँछ । त्यो भनेको आन्दोलनका मुख्य–मुख्य नेता र कार्यकर्ताहरुलाई किन्ने कोशिस गर्छ । त्यहाँ पनि राज्य असफल भयो भने अन्त्य बाध्य भएर आन्दोलनकारीको मुद्दालाई सम्बोधन गर्ने गरी सहमतिमा आउँछ । यी चरणहरु हामीले पार गर्नै बाँकी छ, अहिले त हामी पहिलो चरणमै छौं । तसर्थ, हामीलाई विश्वास छ कि हाम्रो यो आन्दोलन अवश्य नै सफल हुनेछ ।
० आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा तपाइँहरुको भूमिका कस्तो रहनेछ ?
— हामीले यो निर्वाचन प्रणालीको विरुद्धमा चरणबद्ध आन्दोलन सुरु गरिसकेका छौं । अस्ति मंगलबार हामीले काठमाडौंको माइतिघर मण्डलामा निर्वाचन आयोगको डकुमेन्ट जलाएका छौं । अब मधेशका जिल्लाहरुमा चक्काजाम गर्ने कार्यक्रम गर्न लागेका छौं । शान्तिपूर्ण तरिकाले आन्दोलन गर्दै यो राज्यलाई हामी बाध्य पार्छौं । हामी प्रयासमा छौं कि मधेशमा चुनाव हुन दिन्नौं । यो निर्वाचन प्रणाली गलत हो, यसले भ्रष्टाचार निम्त्याउँछ ।
० यो निर्वाचनमा मधेशकेन्द्रित दलहरुको कस्तो आउने देख्नुहुन्छ ?
— बहुत दुःखद् अवस्था आउने देखिन्छ । मंसिर ४ गते कथम्कदाचित चुनाव भइहाल्यो भने निर्वाचन सफल हुन्छ, मधेशी दलहरु असफल हुन्छन् । मधेशका मसीहा भनाउनेहरुको अवस्था दयनीय हुन्छ ।
० मधेशी दलहरु थ्रेसहोल्छ पनि कटाउन सक्दैन ?
— एउटा मधेशी दलले मात्र थ्रेसहोल्ड कटाउँछ । त्यो दलका पनि यो अन्तिम थ्रेसहोल्ड हुन्छ । अर्को चुनावमा थ्रेसहोल्ड कट्दैन । थ्रेसहोल्ड कटाउने भने उपेन्द्र यादवको जसपाले हो । बाँकी कुनै पनि मधेशी दलको औकात यसपालि हुने छैन ।
० विगतमा स्वतन्त्र मधेशको वकालत गर्ने डा.सीके राउत र मधेश आन्दोलनका मसीहा उपेन्द्र यादव अहिले एउटा क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ, कसरी हेरिरहनुभएको छ ?
— म डा.सीके राउतलाई नटवरलाल भन्छु । मधेशको शान, मान र प्रतिष्ठा बेचिदिने महानटवरलाल सीके राउत हुन् । अर्कोतिर उपेन्द्र यादवले इतिहास नबनाएको होइन । त्यो इतिहासलाई उपेन्द्र यादवले आफैले कालो पोतेका छन् । जुन उपेन्द्र यादवले अन्तिम समयसम्म केपी ओलीलाई गाली गर्ने, त्यहीं ओलीसँग गठबन्धन गर्नु मधेशको लागि धेरै ठूलो धोका हो । मधेशी जनता मसीहालाई भोट दिन बाध्य होलान् तर त्यो मसीहा पनि जित्लान् कि जित्दैनन्, शंका छ । नटवरलाल केही गजेरी, भंगेरीका मात्र नेता छन् । पढेलेखेर मात्रै राजनीति हुँदैन, गरेर हुन्छ । राजनीति गर्नका लागि अनुभव बटुल्नुपर्छ ।
० संसदमा मधेशको आवाज उठाउन डा.सीके राउत र उपेन्द्र यादव दुवैको उपस्थिति आवश्यक छ, तर दुवै जना एकै क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कसको सम्भावना छ ?
— यो राज्यको दूरदर्शी सोच हो । राज्यको राजनीति हेर्नुस् न, एक तीरले दुई शिकार गर्दैछ । दुवै जना ऐतिहासिक मान्छे हुन् । सीके राउतले स्वतन्त्र मधेशको एजेण्डा बोकेर प्रशिद्धि कमाएको मान्छे हुन् । उपेन्द्र यादव मधेश जनविद्रोह गरेर आएको प्रशिद्ध मान्छे हुन् । यी दुवै जना शासकको राजनीतिका लागि खतरा हुनसक्छ । यी दुवै नेतालाई यसरी फसाइयो कि एकै पटक दुवै जना पराजित हुन्छन् ।
० भनेपछि, उपेन्द्र यादव र डा.सीके राउत दुवै यो निर्वाचनमा पराजित हुन्छन् ?
— हामीले सप्तरीको वस्तुस्थिति अध्ययन गरिरहेका हुन्छौं, सप्तरी २ मा दुवै जना हार्ने सम्भावना छ । यो राज्यको ग्रेण्डडिजाइन हो । राजनीति भनेको यही हो । राज्यको यो राजनीतिलाई सीके राउतले बुझेका छैनन्, उपेन्द्र यादवले अलि–अलि बुझेर पनि बुझ पचाएका छन् ।
० संघर्षशील मधेशी मोर्चाको तर्फबाट के आह्वान गर्न चाहनुहुन्छ ?
— धेरै लामो छलफल र बहसपश्चात् हामीले यो संघर्षशील मधेशी मोर्चा निर्माण गरेका छौं । यो देशको सम्भावना भनेकै अहिलेको निर्वाचन प्रणाली हो । जबसम्म निर्वाचन प्रणालीमा सुधार गरिँदैन, तबसम्म नेपालमा राम्रो शासन व्यवस्थ आउन सक्दैन । त्यसकारणले हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा ल्याएका छौं । स्वाधिन मधेश जनअभियान र तराई मधेश राष्ट्रिय परिषद् मिलेर सबभन्दा पहिला मधेशमा जनजागरण फैलाउँछौं । किनभने देशमा जतिपनि परिवर्तन भएका छन्, त्यसको अन्तिम र निर्णायक आन्दोलन मधेशले नै गर्छ । यो मुद्दामा पहाडका आदिवासी जनजाति, अल्पसंख्यक, उपेक्षित, उत्पीडितहरुलाई पनि हामी अनुरोध गर्न चाहन्छौं कि पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि हामी सबै एक होऔं । नेपाल जातीय राज्य हो । त्यसैले राज्यका हरेक निकायहरुमा सबै जातिको पहुँच होस् ।
तपाईको प्रतिक्रिया