सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १४ कार्तिक । सूर्यलाई अर्घ दिँदै हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ ।

कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाट लगायन्त अन्य नदी किनारमा पनि छठी माताको पुजाआजा गर्दै यो पर्व मनाइएको हो ।

रामघाट र जमुहार नदीमा ५ हजार बढी भक्तजनहरुले छठको सामूहिक पुजा गरेको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरुले सूर्यको विशेष पुजापठा गरी सामूहिकरुपमा यो पर्व मनाएका हुन् ।

यस वर्ष भने गत वर्षको तुलनामा भक्तजनहरुको संख्या दोब्बर थियो । रामघाट नदीको बारी र पारी दुबै तर्फ पूजाका लागि भक्तजनहरुको भीड लागेको थियो ।

यस वर्ष भक्तजनको संख्या बढेको पूजा व्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए । भक्तजनह जम्मा भएर सामूहिकरुपमा पूजापाठ समेत गरेका थिए ।

पूजाआजाका लागि मधेशी, पहाडी, नेवार समुदायका सहभागी थिए । विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधना समेत गरेका थिए ।

छठमा उपबास बसी पूजाआजा गर्नाले परिवारमा सुख संबृद्धिका साथै सन्तान प्राप्ति र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ ।

उनीहरुले उक्त नदीमा पुजा गरी प्रसादका रुपमा आइतबार बासको सामग्रीमा अर्घ दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका परिकार चढाएका थिए ।

छठ पर्वका लागि पूजा व्यवस्थापन समिति गठन गरी जमुहार र रामघाट नदीमा पुजाआजाका लागि विशेष ब्यवस्था गरेको थियो ।

चार दिनसम्म मनाइने छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै संपन्न भएको छ ।

पर्वसँगै एक आपसमा सदभाव र मेलमिलापको वातावरण सिर्जना भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ