मैथिली भाषालाई मधेश प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्छ : अध्यक्ष डा.दत्त

समाचार

राजविराज, २१ कार्तिक । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले मैथिली भाषालाई मधेश प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन् ।

सप्तरीको राजविराजमा मैथिली साहित्य परिषद्द्वारा आयोजित विद्यापति स्मृति पर्व २०७९ को प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा.दत्तले मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकोले मैथिलीलाई नै सरकारी कामकाजको भाषा बनाउनु पर्ने बताएका छन् ।

अध्यक्ष डा.दत्तले मधेशी आयोग र भाषा आयोगले संयुक्त बैठक गरेर यो विषयमा छलफल गरिसकेको र भाषा आयोगद्वारा प्रदेश सरकारलाई मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस भइसके पनि प्रदेश सरकारले बेवास्ता गर्नुप्रति चिन्ता व्यक्त गरेका छन् ।

अध्यक्ष डा.दत्तले भाषामा राजनीति गर्नुभन्दा पनि भाषाको लागि राजनीति गर्नुपर्ने बताउँदै मैथिली भाषाको संरक्षण र सशक्तिकरण गर्न आयोगले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सो दिवसको अवसरमा परिषद्ले विभिन्न विधातर्फ ३ जनालाई सम्मान गरेको छ । सो कार्यक्रममा मधेशी आयोगकी सदस्य आभा सिंह, मधेश प्रदेशको आम संचार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादव, मैथिली अभियानी अजय साह शिवाली लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ