सीताराम विवाहपञ्चमी महामहोत्सव : मटकोर सम्पन्न

समाचार

जनकपुरधाम, ११ मंसिर । जनकपुरधाममा जारी रहेको सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन मटकोर विधि सम्पन्न भएको छ ।

जनकपुरधामको जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको व्याण्ड र अन्य बाँजा गाँजासहित सुरक्षाकर्मीहरूको सुरक्षा घेरामा जनकपुरधामको प्रशिद्ध गंगासागरमा माटो खन्ने गरिन्छ जसलाई मटकोर विधि भनिन्छ ।

गंगासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुनका लागि जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षु भिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको छ ।

मटकोर विधिमा महिलाहरूले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू पनि गाएका थिए । मटकोर विधि हेर्नका लागि गंगासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो ।

मटकोर विधिमा उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने चलन रहेको छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोलि दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाहको कार्यक्रम रहेको छ ।

सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत पर्सि १३ गते रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरीयातीहरुलाई राखेर प्रसादको रुपमा भोजन गराउने चलन रहेको छ । सोही दिन जन्तीहरूलाई बिदाइ गर्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ