विराटनगर, ११ मंसिर । बेरोजगार युवाहरूलाई रोजगार बनाउने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ ।
कटहरी गाउँपालिकाको आयोजनमा सोमबार सो पालिकामा रहेको फलफूल तथा कृषि थोक बजारमा मेला हुन लागेको हो ।
बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आयोजना हुने मेलामा रोजगारदाता र बेरोजगार युवालाई समन्वय गराउँदै रोजगारी प्रदान गर्ने लक्ष्य लिइएको पालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।
‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणालाई आत्मसात् गर्दै मेलाको आयोजन गर्न लागिएको र मेलाबाट सयौँ युवाहरूलाई रोजगारी पाउन सहज हुने उनको भनाई छ ।
एक दिने मेलामा सीपमूलक तालिम, कृषिसम्बन्धी परामर्श तथा रोजगारीसम्बन्धी सूचनाका लागि युवा र रोजगार दाताहरूबिच प्रत्यक्ष समन्वय गराइने जनाइएको छ ।
तपाईको प्रतिक्रिया