वीरगन्ज, १३ मंसिर । किसानहरूका लागि मलको आपूर्ति सहज बनाउन नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अजय चौरसियाले सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्य चौरसियाले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालसहित मल आपूर्ति गर्ने सरोकारवाला अधिकारीहरूसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरेका हुन् ।
सांसद चौरसियाले किसानहरूले मल अभावका कारण भोगिरहेको समस्यालाई समाधान गर्न तत्काल सहज रूपले उपलब्ध हुने गरी मलको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।
अहिले गहुँ र दलहन बालीको सिजन भएको र गहुँको बीउ तथा डिएपी मल नपाएर किसानहरू छट्पटाईरहेको समाचार सञ्चार माध्यमहरूमा सार्वजनिक भएपछि जनप्रतिनिधिहरू जनताको समस्याप्रति सजक भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी, कृषि सामग्री र साल्ट ट्रेडिङका कार्यालय प्रमुखहरूको उनले ध्यानाकर्षण पनि गराएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा पर्सा–२ (क) बाट निर्वाचन प्रदेशसभा सदस्य श्याम पटेल र (ख) का प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया