मधेशी समुदाय लक्षित अपमानित भिडियोबारे कारबाही गर्न गृहलाई पत्राचार

समाचार

काठमाडौं, १५ मंसिर । विगत केही दिनदेखि सामाजिक संजालमा भाइरल काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहसहित मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियो प्रति मधेशी आयोगले कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।

मधेशी समुदायका अगुवाहरुले आयोगमा सो उजुरी दिएपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले उजुरीलाई दर्ता गरी आवश्यक कारवाही गर्नको लागि गृह मन्त्रालयल र नेपाल प्रहरीलाई पत्राचार गरेको हो ।

काठमाण्डौ महानगरपालिकाले सुकुम्बासी बस्तीलाई खाली गराउने कुराको विरोधमा उत्रेका केही व्यक्तिहरुले मेयर बालेन शाह र मधेशी समुदायलाई धोती जस्ता होच्याउने र अपमानजनक शब्द प्रयोग भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल बनेको छ ।

अध्यक्ष डा.दत्तले समाजमा चेतनाको स्तर अझै पनि नबढेकोले गर्दा मधेशी समुदायले समय–समयमा यस्ता विभेदपूर्ण कुराहरुको सामना गर्नु परिरहेको बताएका छन् ।

अध्यक्ष डा.दत्तले आयोगमा सबैभन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाहरुले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीहरु प्रति आफु सचेत रहेको र आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको समेत बताएका छन् । अध्यक्ष डा.दत्तले समुदायप्रति प्रहार नगर्न सबैलाई अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ