काठमाडौं, १६ मंसिर । देश र मधेश दुवैको राजनीतिक मैदानमा आउँदै प्रहारको प्रभावबाट चर्चा बटुलेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई आया राम गया रामको थेगोलाई फेर्नुपर्ने चुनौती आइपरेको छ ।
जनकपुरको रङ्गभूमि मैदानमा क्रिकेट टीमको प्रतिस्पर्धामा मैदानमा आउने बित्तिकै बाउन्ड्री कटाएका बेला ताली पाएका खेलाडीले अर्को बलमा आउट भएर आउने जानेक्रमलाई संक्षेपमा गरिने टिप्पणी ‘आया राम गया राम’ हुने गथ्र्यो ।
अहिले पनि पचास कटेकाहरू क्रिकेटका दर्शकहरूले यस्तै टिप्पणी गर्ने गर्छन् । हुनत समय र परिवेश अनुसार यस्ता टिप्पणीहरूमा परिवर्तन आइरहेकै हुन्छ ।
यो पटक आम निर्वाचनमा सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका जनमत पार्टीका अध्यक्ष सीके राउत र उनको टोलीका सदस्यहरू समक्ष यो थेगो परिवर्तन फेर्नुपर्ने चुनौती आइपुगेको हो ।
प्रतिनिधिसभामा सीके राउतको दलले प्रत्यक्षतर्फ एक सिटमात्र जितेर पनि समानुपातिकमा राष्ट्रिय पार्टी बन्ने हैसियत बनाइसकेको छ ।
मधेश प्रदेशमा सरकार बनाउने गरी प्रदेश सभाको प्रत्यक्षमा ७ स्थान जितेको छ । तर राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मत अन्तरले हराउनु र एक्लै जितेर राष्ट्रिय पार्टी बनाउन सक्ने सफलताले उनको टाउकोमा भारी बिसाइदिएको छ ।
सप्तरी–२ मा ९५ हजार ३९४ मतमध्ये ६४ हजार २१९ मत खसेको मध्ये ६० हजार ९२१ मत सदर कायम भयो । खसेको कुल सदरमध्ये ३५ हजार ४२ मत जनमत पार्टीका अध्यक्ष राउतले पाए जुन कुल मतको ५७.५ प्रतिशत हो ।
यसैगरी खसेको कुल मतमध्ये जसपाका अध्यक्ष यादवले १६ हजार ९७९ मत ल्याए । यो कुल मतको २७.८ प्रतिशत हुन्छ । दुवै हिसाबले राउतले दोब्बर मत अन्तरले चुनाव जितेका हुन् । यसैले उनको चर्चा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा भइरहेको छ ।
हरेक घर एक रोजगार, किसानको समस्या समाधान, भ्रष्टाचार मुक्त देश, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, स्वराज शासन, प्रत्यक्ष लोकतन्त्र, राइट टु रिकल र राइट टु रिजेक्ट, आर्थिक वृद्धिदर १० प्रतिशत, आर्थिक क्रान्ति, बिजुली र पानी निःशुल्क, १० करोड वृक्षारोपण, डिजिटल सरकार, महिला सुरक्षा, वैज्ञानिक र दिगो पूर्वाधारलगायतका प्रतिबद्धतासहितको घोषणा गरी जनमत पार्टीका सीके राउतले चुनावमा भाग लिएका थिए ।
सर्वाधिक चर्चाको विषय भनेको १० लाख युवालाई रोजगारी दिने नै हो । घरघर एक रोजगारसहित १० लाख युवालाई रोजगारी दिने प्रतिबद्धताका कारण विदेशमा रहेकाहरूले आआफ्नो घरमा फोन गरेर सीके राउतलाई नै मतदान गर्न भनेका थिए ।
राउतलाई मत आउनुमा सबभन्दा ठूलो फ्याक्टर विदेशमा रहेका युवा नै रहेका छन् । उनीहरुले आआफ्ना घरमा राउतलाई मत दिन त भनेनै साथै सहयोग पनि पठाएका थिए । स्वदेशमै रोजगार पाउने हो भने विदेश आउनु पर्ने बाध्यता हटाउनु उद्देश्य रहेको छ ।
समसामयिक आर्थिक राजनीतिक परिदृश्यले राउतको यो माग तत्काल असम्भव देखिएपनि इमानदार प्रयासबाट प्राप्त हुने परिणामले उनको मूल्याकंन हुने उनका मतदाताहरूका भनाइ रहेको छ ।
स्थानीय चुनाव अघि किसान आन्दोलन गरेर चर्चा कमाएको जनमत पार्टीलाई उसको अध्यक्ष राउतलाई पनि विश्वास गरी मधेसमा जसपा र लोसपाभन्दा फरक देखेर जनताले बढी मत दिएका हुन् । देशको साक्षरता दर करिब ६६ प्रतिशत हुँदा सप्तरीको केवल ५४.५ प्रतिशत छ । कम साक्षरता दर भएका जिल्लाहरुमा सप्तरी पनि एक हो ।
राउतले यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको रुपमा सप्तरी जिल्लालाई शतप्रतिशत साक्षर जिल्ला बनाउन उद्घोष गरेका छन् । यसका लागि युद्धस्तरमै काम गर्न साक्षरता सेनानी गठन र परिचालन गरिने योजना सार्वजनिक गरेका छन् ।
सप्तरीमा राजनीतिक र सांस्कृतिक र संस्कारको पुनर्उस्थान गर्न पहिलो पाइलाको रुपमा मधेशको राजनीतिक लागि सदभावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहद्वारा सुरु गरिएको सप्तरी सेवा आश्रमकै स्वरुपमा एउटा आश्रम सञ्चालनमा ल्याई त्यसलाई जनतासँग दैनिक सम्पर्कको रुपमा प्रयोग गर्ने गरी सामाजिक व्यवहार सुरु गरिने राउतको कथन छ ।
उनको लागिका अर्को चुनौती भनेको जसपाका अध्यक्ष यादवद्वारा सुरु गरिएका कार्यहरूलाई निरन्तरता दिने वा चलनचल्तीको राजनीतिककर्मी अनुसार उपेक्षा गर्ने नीति लिइने हो त्यो भने पर्खनै पर्नेछ ।
स्थानीयहरूका अनुसार राउतले गरेका प्रतिबद्धताका २५ प्रतिशत मात्र पूरा गरे जनताका लागि धेरै हुनेछ ।
अन्य राजनीतिक दलले चलनचल्तीको राजनीतिक व्यवहार गरेकाले जनताले उनीहरूलाई नपत्याएको उनीहरूको भनाइ रहेको छ ।
पार्टीका केन्द्रीय सदस्य बीपी साहले पार्टीले आफ्नो प्रतिबद्धता पूरा गर्न मधेश सरकारको नेतृत्व खोजेको बताएका छन् । नेतृत्वमा जनताले जनमत पार्टीलाई पठाएकोले पार्टीको आगामी राजनीति नेतृत्व प्राप्त गर्नु हुने उनले बताए । नेतृत्वमा गए आफू अनुकूलको नीति तथा कार्यक्रम अगाडि बढाइ जनताका अपेक्षा पूरा गर्न सकिने भएकाले मधेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहेको छ ।
अनौपचारिकरूपमा छलफल भइरहेको उनले जनाएका छन् । धनुषाका बेचन मुखिया भन्छन् “ नेटमा अभ्यास गर्ने क्रिकेटरले म्याचमा उसै गरी प्रदर्शन गर्न सक्छ कि सक्दैन चुरो कुरो त्यसमा भरपर्ने हो ।
हेरौँ जनताले जनमतलाई ब्याटिङका लागि पठाएको छ । स्कोर सम्मानजनक बनाउने हो कि आया राम गया राम भएर फर्किने हुन् ।”
तपाईको प्रतिक्रिया