मधेश सरकारको नेतृत्वका लागि सकसपूर्ण कसरत

समाचार

काठमाडौं, १६ मंसिर । मधेशमा मधेशवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने सम्भावना न्यून देखिएको छ । यसअघि पहिलो प्रदेश सभामा पनि जसको प्रदेश सभा सदस्य संख्या बढी थियो त्यसको नेतृत्वमा सरकार बनेको थियो ।

हालसम्म प्रदेश सभाका ६४ प्रत्यक्ष निर्वाचितहरूको परिणाम अनुसार दुई ठुला दलहरूमा एमाले पहिलो र कांग्रेस दोस्रो ठुलो दल बनेको छ । यसै अनुसार समानुपातिकको सिट संख्या बाँडफाँडका आधारमा यी दुई दल नै ठूलो हुने देखिएको छ ।

सरकार बनाउन पाउने पहल पनि यी दुईबाट अगाडि बढ्ने भएको छ । प्रत्यक्षको प्राप्त परिणाम अनुसार नेपाली कांग्रेस १३, नेकपा एमाले १५,जनमत पार्टी ६, माओवादी केन्द्र ४, लोसपा ७, जसपा ९ नेकपा एस ४ र स्वतन्त्र ४ रहेका छन् ।

समानुपातिकमा नेपाली कांग्रेस पहिलो एमाले दोस्रो। जनमत तेस्रो, जसपा चौथो,माओवादी पाँचौ, नेकपा एकीकृत समाजवादी छैटौँ ,लोकतान्त्रिक समाजवादी पार्टी सातौँ आठौँ राप्रपा, नवौँ नेपाल संघीय समाजवादी पार्टी र दशौँ नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

यस आधारमा पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमाले बन्ने पक्का भएकाले यी दुई दलले मधेशमा सरकार बनाउन प्रयास गर्ने छ । जनमत पार्टीले कांग्रेस नेतृत्वको सत्तागठबन्धनलाई सघाउने निर्णय गरेमा मधेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने देखिएको छ ।

अर्कोतर्फ लोसपाले देउवासँग जितेन्द्र सोनलको नेतृत्वमा मधेश प्रदेश सरकार बनाउने मौखिक सहमति गरिएको थियो । लोसपाको सरकारमा सहभागी हुने बार्गेनिङ गर्न पाउने स्थिति निर्वाचन परिणामबाट कमजोर हुन पुगेकोले यसमा पुनर्विचार हुन सक्ने देखिएको छ ।

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय लिने सम्भावाना देखिए पनि जनमत पार्टीको बार्गेनिङ स्थिति बलियो भएकोले उसले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल अगाडि बढाएको हो । यस्तोमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्नेमा कतिपयको भनाइ रहेको छ ।

जनमत पार्टीले संघीय सरकारमा कांग्रेस नेतृत्वको सरकारमा सघाउन अपेक्षित गणपूरक संख्या ६ पुग्ने भएकाले उसको बार्गेनिङ पावर बढ्ने भएको हो । अन्तिम परिणाम अनुसार जनमत पार्टीले संंघीय संसदमा ५ वा सो भन्दा बढी सिट प्राप्त भएमा मधेश सरकारको नेतृत्व लिएर संघीय सरकारलाई सघाउने बलियो बार्गेनिङ प्वाइन्ट अगाडि बढाउन सक्ने देखिएको छ ।

एमालेले जसपा लोसपा लगायतका दललाई मिलाएर जनमत पार्टीलाई मुख्यमन्त्रीको पद दिने गरी मधेशमा प्रदेश सरकार बनाउन सक्ने पहल गर्न सक्छ । जनमत पार्टीले मधेश सरकारको नेतृत्व पाए संघीय सरकारमा जाने मनसाय छोड्न सक्ने विकल्प पनि बाँकी रहेको छ । तर यस्तो स्थिति जसपाले बन्न नदिने देखिएको छ ।

जसपाले नमिठो हारको स्वाद तत्कालै जनमत पार्टीबाट पाएकोले उसले जनमत पार्टीलाई पार्टीको नेतृत्वमा सघाउने सम्भावना तत्काल कम रहेको छ । गठबन्धनको राजनीतिमा सरकार बनाउन बार्गेर्निङ गर्न सक्ने स्थिति महत्वपूर्ण हुन्छ ।

बिमलेन्द्र निधिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग भेटवार्ता गराएको र राउतले संघ र प्रदेश दुवैमा सघाउने बताएकोले कांग्रेस नेतृत्वको मधेशमा बन्ने सम्भावना बलियो भएर गएको छ ।

तर यसका लागि अझ राजनीतिक परिपक्व हुन बाँकी रहेको छ । संघमा एमालेले पनि सरकार बनाउने कसरत गरिरहेको छ । एमालेले संघमा सरकार बनाए मधेश प्रदेशमा पनि एमालेको समर्थनमा सरकार बन्ने पक्का देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ