बुटवल उपमहानगरमा जग्गा कित्ताकाट गर्ने बाटो खुल्यो

समाचार

रुपन्देही, १९ मंसिर । बुटवल उपमहानगरपालिकामा जग्गाको कित्ताकाट गर्ने बाटो खुलेको छ ।

उपमहानगरको कार्यपालिका बैठकले जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गरेपछि जग्गा कित्ताकाट गर्ने बाटो खुलेको हो।

जग्गा वर्गीकरणसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने स्थानीय भू–उपयोग परिषद्को निर्णयलाई सोमबार कार्यपालिका बैठकले अनुमोदन गरेको बुटवल उपमहानगरले जनाएको छ ।

बैठकले सहरीकरणतर्फ उन्मुख रहेका र वडाहरूबाट गैर कृषि क्षेत्र कायम राख्न सिफारिस भएअनुसार वडा नं १ देखि १३ र वडा नं १९ का जग्गाहरूलाई गैर कृषि क्षेत्र कायम गर्ने निर्णय गरेको छ।

कृषि क्षेत्र कायम राख्न इच्छुक स्थानीयलाई पुनः विचारका लागि निवेदन पेश गर्न आह्वान गर्दा कुनै पनि निवेदन नपरेपछि वडा नं १९ लाई पनि गैर कृषि क्षेत्र कायम गर्ने निर्णय गरेको हो ।

यस्तै वडा नं १४ देखि १७ भित्रका ५४ जना जग्गाधनीले कृषि क्षेत्र कायम राख्न दिएको निवेदनअनुसार कृषि क्षेत्र कायम राख्ने निर्णय कार्यपालिकाले गरेको छ।

यस्तै गरी, वडा नं १४, १६ र १८ का ९५ वटा सडकहरूका दायाँबायाँ १ सय मिटरमा पर्ने जग्गाहरू गैर कृषि क्षेत्र कायम भएका छन्।
स्थानीय तहले भू–उपयोग परिषद् खडा गरी त्यसकै निर्णयका आधारमा जग्गाको विशेषताअनुसार १० वर्गमा बाँड्न सकिने नियमावलीमा उल्लेख छ।

जग्गाको वर्गीकरण गरेर मात्रै कित्ताकाट खोल्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनपछि उपमहानगरले उक्त प्रक्रिया अघि बढाएको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ