काठमाडौं, २६ मंसिर । निर्वाचन आयोग प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।
आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आजै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।
आयोगले राजनीतिक दलहरूले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सदस्यको सूची सच्याउने समय सोमबार दिउँसो चार बजेसम्म तोकेको छ।
दलहरूले बुझाएको समानुपातिक सूचीका सम्बन्धमा अध्ययन भइरहेको र सच्याउन समय दिइएको आयोगले जनाएको छ ।
प्रदेश सभामा रहेको क्षेत्रगत (क्लस्टर)को त्रुटि सुधारका लागि सम्बन्धित राजनीतिक दललाई पत्र पठाएर सोमबार अपरान्ह ४ बजेसम्ममा सच्याउन आयोगले भनेको छ ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएपछि समानुपातिक सदस्यमा प्रतिनिधि सुनिश्चित गरेका छन्।
प्रदेश सभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, जनमत, राप्रपासँगै नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिक सदस्यमा प्रतिनिधित्व सुनिश्चित गरेका छन्।
तपाईको प्रतिक्रिया