काठमाडौं, २९ मंसिर । भारतीय राजदूतावास, काठमाडौंले International Year of Millets–2023 को सुरुवाती कार्यक्रमको रुपमा कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (APEDA) सँगको सहकार्यमा बिहीबार भारत–नेपाल कृषि भेलाको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद्ले पनि सहभागिता जनाएको थियो । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कार्यक्रममा सहभागी नेपाली टोलीको नेतृत्व गर्नुभएको थियो ।
भारतको पहल उपर ७२ अन्य देशहरुले समर्थन जनाउँदै सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रुपमा मनाउने प्रस्ताव सन् २०२१ मा संयुक्त राष्ट्र संघले पारित गरेकोे थियो ।
भारत विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश हो । भारतले नौ विभिन्न प्रजातिका करिब १७ मिलियन टन कोदो उत्पादन गर्दछ जुन विश्वव्यापी उत्पादनको लगभग २० प्रतिशत हो । कोदोमा विभिन्न पौष्टिक तत्वहरु पाइन्छन् ।
कोदो पर्याप्त पानी नपाइने सुख्खा जमिनमा, कम वर्षा हुने स्थानमा सहजै फल्छ र मौसम परिवर्तनले पनि खासै प्रभाव पार्दैन । मुलुकको आत्मनिर्भरता बढाउन तथा आयातित अनाज/अन्नमा निर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनको ठम्याई छ ।
भारत–नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको र विशेष गरी कृषि अनुसन्धान, विकास र शिक्षा सम्बन्धी सहयोगात्मक परियोजनामा केन्द्रित ‘कृषिमा भारत–नेपाल नयाँ साझेदारी’ मा आधारित छ । भारत र नेपाल कोदो लगायतका विभिन्न कृषि उत्पादनका लागि एक अर्काका महत्वपूर्ण व्यापारिक साझेदार हुन् ।
भेलालाई सम्बोधन गर्दै दूतावासका नियोग प्रमुख श्री प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गर्नुभयो । APEDA का निर्देशक डा. तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि APEDA ले गरेको निर्यात प्रर्वधन र क्षमता अभिवृद्धि प्रयासको बारेमा विस्तृत जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपालमा कोदोको महत्वबारे बोल्नुभयो । वहाँले कृषि क्षेत्रमा रहेका द्विपक्षीय सहकार्यका क्षेत्रहरु पनि पहिचान गर्नुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठले “Millets Promotion Endeavours of the Government of Nepal and International Year of Millets 2023”बारे प्रस्तुति दिनुभयो ।
कृषिमा भारत–नेपालबीचको सहकार्यलाई निरन्तरता दिदै अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ मा केन्द्रित हुँदै दूतावासले वर्ष २०२३ भरी नै विविध गतिविधि तथा कार्यक्रममार्फत कोदोको प्रर्वधन गर्नेछ ।
तपाईको प्रतिक्रिया