काठमाडौं, २ पुस । क्याम्ब्रिज विश्वविद्यालयका पीएचडी छात्रले अढाई हजार वर्ष पुरानो संस्कृत व्याकरणको एक उल्झनलाई सुल्झाइदिएका छन् ।
बीबीसीका अनुसार, भारतीय मूलका २७ वर्षे ऋषिराज पोपटले ईशा पूर्व पाँचौ शताब्दीका संस्कृत विद्वान पाणिनीको एक नियमलाई सुल्झाएका हुन् । पाणिनी प्राचीन संस्कृत भाषाका विद्वान थिए ।
राज पोपटका अनुसार, उनी ९ महिनायता उक्त उल्झनमा अल्झिएका थिए । जति नै सोचे पनि उनले कुनै उपाय पहिल्याउन सकेका थिएनन् ।
क्याम्ब्रिज विश्वविद्यालयमा हुँदै उनले समाधान पहिल्याए । ‘मैले एक महिनाका लागि किताब बन्द गरेँ । साइकल चलाउने, खाना बनाउने, प्रार्थना र चिन्तन मननको आनन्द लिएँ । मन नहुँदा नहुँदै म काममा फर्किएँ । त्यसको केही मिनेटमै, मैले पन्ना पल्टाउन थालेलगत्तै यो प्याटर्न देखिन थाल्यो । अनि मैले सबै कुरा बुझ्न थालेँ ।’
उनका अनुसार उल्झन सुल्झाउन उनी घण्टौंसम्म पुस्तकालयमा बस्थे । कति पटक त उनले पूरै रात पुस्तकालयमा बिताएका थिए ।
के थियो उल्झन ?
संस्कृत भारत वा नेपालमा खासै प्रचलित छैन तर यसलाई हिन्दु धर्मको पवित्र भाषा मानिन्छ । यसलाई भारत र नेपालको विज्ञान, दर्शन, कविता, र धर्मनिरपेक्ष साहित्यमा प्रयोग गरिएको पाइन्छ ।
पाणिनीको व्याकरणलाई अष्टाध्यायी भनिन्छ । यो एक यस्तो व्यवस्थामा आधारित छ, जसले एल्गोरिदमले जस्तै काम गर्छ । कुनै शब्दको मूल र प्रत्ययलाई व्याकरणिक रूपबाट सही शब्द र वाक्यमा बदलिदिन्छ ।
यद्यपि, पाणिनीका दुई वा त्योभन्दा बढी नियम एक साथ लागू हुन्छ । त्यसैले यसबाट विवाद पैदा हुन्छ ।
पाणिनीले यी नियमहरूको पनि एक नियम बनाएका थिए, जसलाई पारम्परिक रूपबाट विद्वानले विभिन्न तरिकाले परिभाषित गरे, ‘जब एकैखालको शक्ति भएका दुई नियममा विवाद हुन्छ, तब व्याकरणमा पछि आउने नियमलाई प्रभावी मानिन्छ ।’
यद्यपि, यो व्याख्याका कारण कैयौँपल्ट व्याकरणको हिसाबबाट गलत नतिजा निस्कन्थ्यो ।
राजले नियमहरूको पनि नियमको पारम्पारिक व्याख्यालाई गलत साबित गरिदिए । उनले तर्क गरेका छन्– पाणिनीको मतलब अर्कै थियो । नियम शब्दको बायाँ र दायाँतिरको हिसाबले लागू हुन्छ । यस्तोमा पाणिनी चाहन्थे कि दायाँतर्फबाट लागू हुने नियमलाई चुनियोस् ।
यो व्याख्यालाई लागू गरेपछि राजले थाहा पाए, पाणिनीको ‘भाषा मेसिन’बाट व्याकरणका लागि सही शब्द बन्छन् । यसमा कुनै अपवाद छैन ।
क्याम्ब्रिजमा उनका सुपरभाइजर एवं संस्कृत प्राध्यापक विन्सेन्जो भर्जियानीले भने, ‘राजले असाधारण समस्याको समाधान खोजेर निकालेका छन्, जसले शताब्दीऔँदेखि विद्वानहरूलाई भ्रमित पारेको थियो । यो खोजले संस्कृत भाषाको अध्ययनमा यस्तो समयमा क्रान्ति ल्याउने छ, जुन बेला यो भाषामा जनरुचि बढिरहेको छ ।’ — शिलापत्र डटकमबाट
तपाईको प्रतिक्रिया