राष्ट्रपतिद्वारा औद्योगिक प्रदर्शनी उद्घाटन

समाचार

रुपन्देही, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटन गरेकी छन् ।

रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत रुपन्देहीको रामनगरस्थित नेपाली सेनाको ब्यारेकमा दिउँसो १ः१० बजे अवतरण गरेकी थिइन् ।

महोत्सव उद्घाटनपश्चात् बुटवल नजिकैको शिद्धबाबा मन्दिरमा राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन् ।

मण्डपमा प्रदर्शनीका लागि आवश्यक भौतिक निर्माणको काम पूरा भएको सङ्घले जनाएको छ । मण्डपमा स्टल, सचिवालय, मञ्च, मनोरञ्जन स्थल तथा पेभेलियनहरूको निर्माण सकिएको छ ।

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका चार सय ५० स्टल छन् ।

यस पटकको प्रदर्शनीमा सात लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन सांस्कृतिक कार्यक्रमको पनि व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ