काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि प्रतिनिधिसभाका १६९ सांसदसहित आफ्नो दाबी पेश गरेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
नेकपा एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अन्य ३ स्वतन्त्र सांसदको समर्थन छ ।
राष्ट्रपति भण्डारीलाई पेस गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका दल नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठ, स्वतन्त्र सांसदहरु प्रभु साह, किरण साह र डा.अमरेशकुमार सिंहले समर्थन गरेका छन् ।
तपाईको प्रतिक्रिया