विराटनगर, १२ पुस । कोभिड–१९ को नयाँ स्वरूप छिमेकी देशहरूमा देखा पर्न थालेपछि यसको नियन्त्रण, रोकथामका लागि मोरङमा सचेतना अभियान शुरु गरिएको छ ।
मोरङ जिल्ला समन्वय समितिको बसेको बैठकले सार्वजनिक यातायातका साधन तथा भिडभाड हुने स्थानमा स्वास्थ्य मापदण्ड अपनाउने, भौतिक दुरीको पालना अनिवार्य गराउने, व्यक्तिगत सरसफाइ लगायतको जानकारी स्थानीय तहमार्फत प्रचारप्रसार गर्ने, नेपाल पत्रकार महासङ्घमार्फत सन्देशमूलक सामाग्रीको प्रचार प्रसारको व्यवस्था गर्ने जस्ता निर्णय गरेको छ ।
यसैगरी मोरङको नेपाल भारतको सीमा नाकामा निगरानी बढाउने, शङ्कास्पद व्यक्तिहरूको ट्रयास, टेष्ट र ट्रिट गर्ने पद्धति स्थानीय तह र स्वास्थ्य निकायमार्फत गराउन क्रियाशील बनाउने, जिल्लाका स्थानीय तहमा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने र कोभिड खोप लिन छुटेका र बुस्टर डोज लिन बाँकी नागरिकहरूलाई खोपको व्यवस्था गर्ने जस्ता निर्णय भएको जनाइएको छ ।
साथै, सम्पूर्ण कार्यालयमा सेवाग्राहीहरूलाई मास्क, साबुनपानीले हात धुने, स्यानिटाइजरको व्यवस्थाको लागि निर्देशन दिने निर्णय भएको हो ।
तपाईको प्रतिक्रिया