जग्गाधनी प्रमाणपुर्जा वितरण सुरु

समाचार

रुपन्देही, १४ पुस । राष्ट्रिय भूमि आयोग रुपन्देहीले अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ ।

नापजाँचको काम सकिएका अव्यवस्थित बसोबासीहरुका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण सुरु गरिएको भूमि आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका र मायादेवी गाउँपालिकाबाट वितरण सुरु गरेको हो ।

बुटवल उपमहानगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरी १८ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । बुटवल वडा नं. १९ का १२ र मायादेवी वडा नं. ८ का ६ जना जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले जानकारी दिए ।

जिल्लामा करिब १ लाख अव्यवस्थित, सुकुम्बासी तथा भूमिहीन रहेको उहाँले बताउँदै अहिले ३ हजार जग्गाधनीको लालपुर्जा तयार भएको बताउनुभयो ।

जिल्लाको बुटवल देवदह, सैनामैना, कञ्चन, मायादेवी, सिद्धार्थनगरमा नापजाँच सकिएर लालपुर्जा वितरणको अन्तिम चरणमा रहेको आचार्यले बताउनुभयो । लालपुर्जा तयार भएपनि सरकारले लिने राजश्व बढी हुँदा जग्गाधनी वितरणमा कठिनाइ भइरहेको बताउँदै उहाँले सरकारले राजश्वको दायरालाई कम गर्नुपर्ने सुझाव दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ