संस्कृतमा शपथ लिने सांसद साहलाई परिषद्को सम्मान

समाचार

काठमाडौं, १६ पुस । रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद किरण साहलाई हिन्दू परिषद् नेपालले सम्मान गरेको छ ।

हिन्दु परिषद नेपालले शुक्रबार संघीय राजधानी काठमाडौंस्थित मधेश मिडिया हाउसमा एक कार्यक्रमको आयोजना गरी संस्कृत भाषामा प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ सपथ लिएको भन्दै उनलाई सम्मान गरेको हो ।

सांसद साहले संस्कृत भाषामा सपथ लिएर एउटा छुट्टै पहिचान बनाएको भन्दै परिषद्का अध्यक्ष सन्तोषानन्दजी महाराजले भागवत् गीता प्रदान गर्दै केही सुझावहरुसमेत दिएका छन् ।

अध्यक्ष महाराजाले सांसद साहलाई लव जिहाद, गौहत्या, धर्म परिवर्तन, गुरुकुल शिक्षा, हिन्दूमाथि भइरहेको दमन–शोषण, मठमन्दिरका जग्गा अतिक्रमण लगायतका विषयमा संसदभित्र प्रखररुपमा आवाज उठाउन आग्रह गरेका हुन् ।

संस्कृत भाषामा शपथ लिएपछि उनको कााँधमा ठूलो जिम्मेवारी आएको भन्दै महाराजले सनातन हिन्दू धर्मावलम्बीहरुको आशाको केन्द्र बनेको समेत विचार व्यक्त गरेका थिए ।

सम्मान ग्रहण गर्दै सांसद साहले आफू सनातन हिन्दू धर्मबारे संघीय संसदभित्र जोडजाररुपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफू संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिनुको कारण पछि खुलाउनेसमेत जानकारी दिए ।

हिन्दू परिषद् नेपाल काठमाडौं उपत्यका कमिटीका अध्यक्ष वीरेन्द्र ठाकुरको सभापतित्वमा आयोजित सम्मान कार्यक्रममा त्रिवेणीधामका पीठाधीश धर्मपाल गुरु बशिष्ठ, धार्मिक अभियनता दीपक महाराज आत्रेय, देवघाट धामका प्रवर्तक देव बाबा, मिसन नेपाल संस्थाका केन्द्रीय अध्यक्ष एवं पूर्वडीएसपी केपी शर्मा, समाजसेवी नरेश साह कानू, बोलबम काँवरिया संघका संस्थापक अध्यक्ष छोटेलाल साह, परिषद्का केन्द्रीय उपाध्यक्ष पिंकी महासेठ, महासचिव रामशोभित नायक, केन्द्रीय सदस्य बाँके बिहारी प्रसाद, धार्मिक अगुवा महेश्वर बाबा लगायत रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ