जनकपुरधामबाटै पूर्वश्रम स्वीकृति सुरुवात हुँदा युवाहरु उत्साहित

समाचार

जनकपुरधाम, २५ पुस । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पूर्वश्रम स्वीकृति तथा अन्तिम श्रम स्वीकृति दिने कामको सुरुआत हुँदा युवाहरु उत्साहित भएका छन् ।

यसअघि पुनः दर्ताको काम मात्र हुने गरेकोमा आइतबारदेखि सेवा विस्तार भएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ६ सय ३६ जनाको पुनः दर्ताको काम भएको श्रम तथा रोजगार कार्यालयका निमित्त कार्यालय प्रमुख राम उद्गार अधिकारीले जानकारी दिए ।

नयाँ श्रम तथा अन्तिम श्रमको स्वीकृति यसै कार्यालयबाट शुरु भएपछि सेवाग्राहीको सङ्ख्या व्यापक रुपमा बढेको छ ।

मधेश प्रदेश र त्यसमा पनि धनुषा तथा महोत्तरीबाट भारी मात्रामा वैदेशिक रोजगारीका लागि युवाहरू गएका छन् । धनुषाबाट मात्र ४० हजारको सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् ।

नेपालमा नै सबैभन्दा बढी धनुषाबाट रोजगारीका लागि युवाहरू खाडी मुलुक पुगेका छन् ।

मधेश प्रदेशबाटै श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति मिलेपछि यस क्षेत्रका युवाहरू उत्साहित भएका छन् ।

जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरीका सेवाग्राहीलाई सेवा दिन शुरु गरेको हो ।

त्यस्तै, वीरगञ्जबाट रौतहट, बारा तथा पर्साका सेवाग्राहीलाई सेवा प्रदान शुरु गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ