काठमाडौं, ७ माघ । भारत स्वतन्त्रताको ७५ वर्ष र भारत र नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन भारतीय राजदूतावास, काठमाडौंले शुक्रबार ‘सङ्गीत सुकुन’ नामक एक साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० र नेपाली साङ्गीतिक समूह कुटुम्बले उक्त कन्सर्टमा आफ्नो साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा भारतको ७४ औं गणतन्त्र दिवस पनि मनाइएको थियो ।
उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा कर्नाटिक २.० साङ्गीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्यो । त्यस्तै नेपाली साङ्गीतिक समूह कुटुम्बले नेपाली मौलिक सङ्गीत प्रस्तुत गर्यो । दुई साङ्गीतिक समूहले “तालको पानी माछीले खानी...” बोलको नेपाली लोक गीत पनि एक साथ प्रस्तुत गरे ।
भारतीय साङ्गीतिक समूह कर्नाटिक २.० ले कर्नाटक सङ्गीतको विभिन्न रागलाई पश्चिमा सङ्गीतसँग संयोजन गरी सङ्गीतमा नयाँ प्रयोग गर्दै आएको छ ।
कुटुम्ब विभिन्न नेपाली लोक बाजा प्रयोग गरी नेपाली मौलिक सङ्गीतलाई संरक्षण एवम् प्रवर्धन गर्न समर्पित साङ्गीतिक समूह हो । कर्नाटिक २.० ले भोलि शनिबार पाटन दरबार स्क्वायरमा साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया