प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धी ज्ञान आदानप्रदान

समाचार

काठमाडौं, ८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार भारतीय राजदूतावास, काठमाडौंमा आयोजित प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षणबारे ज्ञान आदानप्रदान सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नेपाल र भारतका सांस्कृतिक सम्पदा क्षेत्रमा अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्धलाई सुदृढ गर्न र विज्ञहरुको स्थलगत अनुभवहरुबाट हासिल उत्कृष्ट अभ्यासबारे ज्ञान आदानप्रदान गर्न भारतीय राजदूतावाससँगको सहकार्यमा Indian National Trust or Art and Cultural Heritage (INTACH) ले सो सेमिनारको आयोजना गरेको थियो ।

५० मिलियन अमेरिकी डलरको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत नेपालका ७ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण भइरहेको छ । १२ वटा सम्पदा क्षेत्रका लागि INTACH ले प्राविधिक विशेषज्ञता प्रदान गरेको छ ।

सेमिनारमा विभिन्न प्राविधिक सत्रका साथै सहभागीहरुसँग अन्तरक्रिया र विभिन्न संस्थासँग आवद्ध भई प्राकृतिक एवम् सांस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा काम गरिरहेका विज्ञसँग छलफल भएको थियो ।

नेपाल सरकारका पदाधिकारी, अन्तर्राष्ट्रिय संघ संस्थाका प्रतिनिधि, निर्माण व्यवसायी र सम्पदा संरक्षणको क्षेत्रमा कार्यरत विज्ञको सेमिनारमा उपस्थिति थियो । यो सेमिनार “आजादीका अमृत महोत्सव” अन्तर्गत दूतावासले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम मध्येको एक हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ