कठिन समयमा भारतले नेपाललाई गरेको सहयोग प्रशंसनीय : उपप्रम श्रेष्ठ

समाचार

काठमाडौं, १० माघ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ महामारी लगायतका कठिन समयमा भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गरेका छन् ।

भारतीय दूतावासले दक्षिण एसियाली अध्ययन केन्द्र (सीएसएएस) सँगको सहकार्यमा भारत–नेपाल विकास प्रयासको इतिहास र भविष्यका बारेमा छलफल गर्न सोमबार आयोजना गरेको भारत–नेपाल विकास साझेदारी सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भारत नेपालको प्रमुख विकास साझेदार भएको बताए ।

दुई देशबीचको सांस्कृतिक घनिष्ठता कारण नेपाल र भारतबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भारतले सन् १९५४ मा गौचरण विमानस्थल–हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई– नेपालको पहिलो विमानस्थलको रुपमा र सन् १९५६ मा त्रिभुवन राजमार्ग निर्माण गरेको स्मरण गराए ।

उपप्रधानमन्त्री श्रेष्ठले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ महामारी लगायतका कठिन समयमा भारतले नेपाललाई सधैं सहयोग गर्दै आएको बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाललाई अतिकम विकसित मुलुकको श्रेणीबाट उत्तीर्ण गर्न आवश्यक विकास सहायता उपलब्ध गराउन भारतले कुनै कसर बाँकी नराख्ने बताए ।

त्यसैगरी नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले विकास आयोजना सुरु गर्नुअघि विविध पक्षका बारे ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा वाणिज्य सचिव मधुकुमार मरासिनी, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्ले, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतका वक्ताले कनेक्टिभिटी, ऊर्जा व्यापार, र नेपाल र भारत बीच व्यापार सन्तुलनमा जोड दिनुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ