नेपाल–भारत मैत्री अन्तर्यको सन्देश

समाचार

काठमाडौं, १२ माघ । भारतले देशमा गणतन्त्रको ७४औँ स्थापना दिवस मनाइरहेको छ । विश्वभरका कूटनीतिक नियोगले पनि भारतका राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

यसैगरी काठमाडौंस्थित भारतीय राज दूतावासले ७४ औं गणतन्त्र दिवस मनायो । बिहीवार राज दूतावासले आयोजना गरेको सो अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन योगदान दिएकाहरूलाई कदर स्वरूप कही व्यक्तिहरुलाई सम्मानित गरिएको थियो । साथै भारतीय सेनामा कार्यरत रहेर दिवंगत भएका नेपालीहरुको सम्मानमा उनीहरुको परिवारलाई पनि कम्बलसहित चेक हस्तान्तरण गरियो ।

त्यसअघि दूतावास परिसरमा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा फहराए ।

राष्ट्रपतिद्वारा जारी सन्देश पढेर सुनाए । दूतावासले नेपालका विभिन्न पुस्तकालय र शैक्षिक संस्थाहरुलाई उपहारस्वरुप पुस्तक प्रदानसमेत गरेको छ । भारतले हरेक वर्ष २६ जनवरीमा आफ्नो गणतन्त्र दिवस मनाउने गर्छ । नेपाल भारतबीचको दौत्य सम्बन्ध औपचारिकरूपमा स्थापना भएको त्यतिकै वर्ष पुगेको छ ।

दुई देशका बीच यो सम्बन्धबारे दुई पक्षीय सन्धिमा जुलाईको १९५०मा हस्ताक्षर भएको थियो ।

नेपाल भारत दुवै आसन्न छिमेकीहरू हुन् । भौगोलिक आकारको रूपमा यी दुई देश ठुलो सानो भएपनि यी भाषिक, सामाजिक, सांस्कृतिक , धार्मिकरूपमा एउटै जसो देखिन्छन् ।

दुई देशबीचका सम्बन्धहरूमा केही राजनीतिक दलका केही खास खास नेताहरूले अनअपेक्षित क्रियाकलाप गरिआएको पाइन्छ । यस्ता सम्बन्धहरूलाई समाधान गर्नुपर्ने आवश्यकता रहेको छ ।

दुई देशका सरोकारवालाहरूको उपस्थितिमा गणतन्त्रको ७४औँ वार्षिकोत्सवको अवसरको पूर्व सन्ध्यामा आजादीको अमृत महोत्सव वा आजादीको ७५औँ वर्षको अवसरमा नेपाल भारतबीच भएको सम्बन्धको लेखाजोखा गरिने गरी एक कार्यक्रम गरियो ।

२३ जनवरीका दिन सोल्टी होटलमा यो कार्यक्रम गरिएको थियो ।त्यसलाई नेपाल भारत विकास साझेदारी महोत्सव शीर्षक दिइएको थियो ।

त्यसमा दुवै पक्षबाट सरकारी गैरसरकारी व्यक्तिहरूको सहभागिता थियो । त्यसको उद्घाटन वर्तमान सरकारका उपप्रधानमन्त्री तथा भौतिक पूर्वधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख अतिथिको रूपमा सम्बोधन गरेका थिए ।

उनका अतिरिक्त नेपाल सरकारका मुख्यसचिव डा. शंकरदास बैरागी, वाणिज्यसचिव मधुकुमार मरासिनी, नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ लगायतका व्यक्तिहरूको सहभागगिता थियो ।

अन्य विज्ञहरूमा नेपालको तर्फबाट अर्थविद् डा. स्वर्णिम वाग्ले, निश्चलनाथ पाण्डे र प्राध्यापक विजयकान्त कार्ण लगायतका व्यक्तिहरूको उपस्थिति थियो । भारतका तर्फबाट नयाँ दिल्लीबाट सरकारी गैरसरकारी व्यक्तिहरू जोडिएका थिए ।

दुवै पक्षका व्यक्तिहरूले दुई देशबीचको सम्बन्धका बारेमा प्रकाश पारेका थिए भने आर्थिक व्यापारिक सम्बन्धका समस्याहरू पनि औँल्याएका थिए । भारतका तर्फबाट नेपालका विकास परियोजनाहरूमा भइरहेका कठिनाइका बारेमा समस्या उल्लेख गरेका थिए ।

विकास परियोजनाहरूमा देखिने बाधाहरू हटाउने आवश्यकता औँल्याइएको थियो । कमीकमजोरी हटाइ विकासका परियोजनाहरू समयमै पूरा गर्नुपर्ने आवश्यकता औँल्याइएका थिए ।

नेपाल सरकारका मुख्य सचिव डा. बैरागीले परियोजनाहरू समयमै पूरा गरिनुपर्ने बताएका थिए भने भारतीय तर्फबाट सतलज कम्पनीका प्रतिनिधिले काम गर्न भइरहेको र हुनसक्ने समस्याका बारेमा ध्यानाकर्षण गरेका थिए ।

दुई देशबीचको सम्बन्धमा विकासको यात्रा गौचरण विमानस्थलको निर्माण जसलाई अहिलेको त्रिभुवन विमानस्थलको रूपमा चिनिन्छ त्यसको निर्माणबाट भएको थियो ।

भारतले सहयोग गरेको हवाई यात्राका अतिरिक्त धेरै सडक, खानेखापनी, स्कूल, स्वास्थ्य केन्द्र र अस्पताल निर्माणहरूको चर्चा गरिएको थियो । त्यस अवसरमा आजादीको अमृत महोत्सव पारेर नेपाललाई ७५वटा यस्ता परियोजनाहरू बुझाएकोमा नेपालका तर्फबाट भारत सरकारलाई बधाई ज्ञापन गर्ने काम भएको थियो ।

तर यो विकास साझेदारी महोत्सवले दिन खोजेको मुख्य सन्देश भनेको दुई देशका बीचको राजनीतिक मतभेदलाई विकासका परियोजनाहरूमा ल्याउन नहुने थियो । नेपालमा भारतको सहयोगमा बन्ने परियोजना नेपालीहरूको लागि त हुने नै भयो तर भारतका लागि पनि त्यतिकै महत्वपूर्ण छ ।

नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पानी र जवानी दुवै बगेर भारतमा आउने भनेका थिए । साथै पहिले तपाईहरू आफ्नो अँध्यारो हटाउनुस त्यसपछि हाम्रो अँध्यारो हटाउन योगदान दिनुस । मोदीको त्यो सन्देशलाई स्मरण गर्दै त्यो कार्यक्रममा सहभागी एकले भने “ आंशिकरूपमा भारतले नेपाललाई बिजुली बेच्न थालेको छ ।

यो भनेको भारतको अँध्यारो हटाउने उपाय नै हो । ” ती व्यक्तिका अनुसार दुवै देशका व्यक्तिहरूले मोदीको यो मन्त्रलाई मानेर समयमा परियोजनाहरू पूरा गर्न खोजे यी दुई देशको अद्वितीय मैत्रीले निसन्देह नयाँ उचाइँ लिनेछ । त्यो भनेको नेपालको विकासमा भारत पर्खाल बन्नु हुँदैन भने भारतको शान्तिमा नेपाल बारुद बन्नु हुँदैन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ