नेपाल र भारत एकअर्काका परिपूरक : मुख्यमन्त्री यादव

समाचार

वीरगन्ज, १२ माघ । छिमेकी मित्रराष्ट्र भारतको ७४औं गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले शुभकामना व्यक्त गरेका छन् ।

भारतको ७४औँ गणतन्त्र दिवसको अवसरमा बिहीबार वीरगन्ज महावाणिज्य दूतावासद्वारा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको भन्दै नेपाल र भारतको सम्बन्ध रोटीबेटीको मात्र नभई राजनीतिक सामाजिक, धार्मिक र सांस्कृतिक रुपमा समेत धेरै पुरानो सम्बन्ध रहेको जिकिर गरे ।

भारतको गणतन्त्र दिवसको अवसरमा भारत सरकार एवं सम्पूर्ण भारतवासीमा शुभकामना तथा बधाई समेत व्यक्त गर्नुहुँदै मुख्यमन्त्री यादवले भारतमा ठूलो सङ्ख्यामा नेपाली नागरिकहरूले रोजगारी प्राप्त गरिरहेको तथा भारतीय नागरिकहरूले पनि नेपालमा रोजगारी गरिरहेको बताउँदै शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत दुवै देश एक अर्काको परिपूरक भएको बताए ।

कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास वीरगञ्जको तर्फबाट महावाणिज्यदूत नितेश कुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा बासाबास गरिरहेका भारतीय नागरिकहरूमा बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ