विभिन्न सरकारी कार्यालयहरुबाट बिचौलियाहरु पक्राउ

समाचार

महोत्तरी, १८ माघ । जिल्लाका विभिन्न सरकारी कार्यालयहरूबाट बिचौलियाहरु पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट पाँच जना र भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वरबाट पाँच गरी दश जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलवार भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराई दिने भनी प्रलोभन देखाई पैसा बार्गेनिङ गरिरहेको गोप्य सूचनाको आधारमा पाँच जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट पक्राउ पर्नेमा मटिहानी नगरपालिका–९ का ५२ वर्षीय अजिमउदिन अन्सारी रहेका छन् भने भूमिसुधार तथा मालपोत कार्यालयबाट सोनमा गाउँपालिका–२ का ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका –१ का ३० वर्षीय बिक्रम चौधरी, औरही नगरपालिका–४ का ५४ वर्षीय सुरेश गोप र बलवा नगरपालिका–१० का ३८ वर्षीय अमित कुमार मल्लिक रहेका छन् ।

पक्राउ परेका पाँचै जना बिचौलियालाई जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा उपस्थित गराई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार प्रहरीले महोत्तरी गाउँपालिका–४ बस्ने नागेन्द्र पासवान, मटिहानी न.पा.–२ बस्ने उदयशंकर यादव, जलेश्वर नगरपालिका–२ बस्ने विनोद साह, विनोदकुमार महतो र रामगोपालपुर नगरपालिका–८ बस्ने विशम्भरप्रसाद साहलाई पनि बिचौलियाको काम गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ