सत्य र अहिंसाको पुजारी गान्धीलाई कुनै सीमामा नबाधौं : सांसद अजय चौरसिया

समाचार

वीरगंज, २३ माघ । पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय कुमार चौरसियाले वीरगञ्ज–१४ पिपरास्थित लिंक रोडलाई महात्मा गान्धी रोड नामाकरण हुनु स्वागतयोग्य भएको बताएका छन् ।

अहिंसाको आन्दोलनबाट समुदायलाई निरन्तर शान्ति र एकतातर्फ डोर्याउने गान्धीको नामले सडक नामाकरण गरिनु प्रशंसायोग्य भएको उनले बताएका हुन् ।

जगतगुरु श्री रविदास जयन्तीको अवसरमा पर्सागढी नगरपालिका – ८ स्थित हरपुर टाडी टोलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समुदायका लागि सत्कर्म गर्नेहरुलाई देशको सिमानाले छुट्टयाउन नसकिने स्पष्ट पारे ।

उनले भने, “समुदायको निर्माणमा एक इट्टा थप्ने व्यक्तिको योग्दान पनि प्रशंसायोग्य हुन्छ, गान्धीले त विश्वलाई अहिंसा र सत्यको पाठ पढाएका छन्”। विश्वलाई अहिंसा र सत्यको मार्गमा हिँड्न प्रेरित गर्ने गान्धीको सम्मानमा विश्वका ८० वटा देशमा शालिक निर्माण गरिएको उदहरण दिँदै उनले वीरगञ्जमा पनि गान्धीको नामबाट सडक नामाकरण गरिनु गौरवको विषय भएको बताए ।

उनले सामाजिक विकृतिका विरुद्ध निरन्तर चेतनाको सञ्चार गर्नुभएका जगतगुरु रविदास, कविरदास र गान्धीहरुबाट समुदायले प्रेरणा लिनुपर्ने धारणा राखे ।

“विश्वका ८० भन्दा बढी देशमा गान्धी शालिक छ, भारतको पटनामा वीपिको कोइरालाको शालिक छ, भारतकै बेत्तियामा गोपालसिंह नेपालीको शालिक र चोक छ, वीरगञ्जमा पनि गान्धीको नामबाट सडक नामाकरण गरिँदा विरोध गरिनुहुँदैन, यो गौरवको विषय हो” उनले भने ।

सडक नामाकरणको विरोध गर्नेहरुले गान्धीको दर्शन र महत्व बुझ्नुपर्ने उनले बताए । त्यसै गरी वक्ताहरुले यस्ता नामाकरण र कार्यहरूले वीरगन्जलाई अन्तराष्ट्रिय पहिचान दिलाउनमा पनि सहयोग पुग्नेछ भनेर तर्क राखेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य श्याम पटेल, क्षेत्रीय सभापति मो. सहाबुद्दीनलगायतकाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ